Online Bichar
शुक्रबार, बैशाख ०७, २०८१ | Friday, April 19, 2024
Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार
डण्डिराज घिमिरे

“ नाम एउटा परिधि हो, जसभित्र मान्छे बेनाम हुन्छ ।” – स्यामुली प्यारोनिन

नेपाली राजनीतिमा दुई दशकभन्दा अगाडिदेखि कै स्थापित शब्द हो प्रचण्ड । इतिहासमा प्रचण्ड शब्दले युगको प्रतिनिधित्व गरेको पाइन्छ । नेपालमा प्रचण्डयुगले स्थापित गरेका राष्ट्रिय आयामहरु ऐतिहासिक तथा उल्लेखनीय छन् । तर हिंजोआज प्रचण्ड शब्दको ओज र गरिमालाई नाममा सिमित गरेको पाइन्छ ।

प्रचण्ड कसैको ब्यक्तिगत परिचय झल्काउने नाम मात्र होइन । पुष्पकमल दहालको समानार्थी शब्द प्रचण्ड हुँदैहोइन । प्रचण्ड भनेको त दश बर्षे महान जनयुद्धले स्थापित गरेको बिम्ब हो । क्रन्ति, संघर्ष, परिवर्तन र गतिशिलताको पर्याय हो प्रचण्ड । कुनै ब्याक्तिको साँघुरो र नियन्त्रित परिचय भित्र प्रचण्ड बिम्बलाई सिमित गर्नु भनेको युगको अपमान गर्नु हो ।

बिम्बको प्रयोगले भाव सम्प्रषण गर्नमा मद्धत मिल्छ अनि बिम्बले भावलाई सशक्त र प्रभावकारी बनाउने गर्दछ । दिर्घकालिन जनयुद्धको मर्म र भावनाको सिंगो प्रतिनिधित्वको भाव सम्प्रेषण हो प्रचण्ड । प्रगतिशिल परिवर्तनको सजिव समयरुपी बिम्बहो प्रचण्ड । असम्भवलाई सम्भव बनाउने अस्त्र हो प्रचण्ड । असम्भव देख्नेहरुलाई गण्तन्त्र, संघीयता, समावेशी, धर्मनिरपेक्षता , संविधानसाभा बाट संविधान लगाएत वर्तमानका उपलब्धीको सिंहासनमा बिराजमान गराउने तागत हो प्रचण्ड ।

२०५२ सालबाट सुरु भएको महान तथा गौरवशाली जनयुद्ध र २०६२÷०६३ देखिको शान्ति मोर्चाको केन्द्रविन्दु मियो हो प्रचण्ड । दुईदशक देखि निरन्तर प्रचण्डको वरिपरि नेपालको राजनीति केन्द्रत छ । माक्र्सवाद–लेनिनवाद–माओवादको बलियो जगमा उभिएको प्रचण्ड बिम्बको प्रयोग पुष्पकमल दहालको नाम संग भएको भएता पनि यो यथार्थमा माओवादी अध्यक्षको पर्याय विशेषण बिम्ब नै हो । यो पनि घाम जत्तिकै स्पष्ट छ कि प्रचण्डको गौरवपूर्ण परिभाषाको तुलनामा पुष्पकमल नाम फिक्का र विपरितार्थक हुन्छ ।

अध्यक्ष भनेको पनि पद मात्र होइन विचार, सिद्धान्त र दृष्टिकोण हो । तत्कालिन नेकपा माओवादी हुँदै हालको नेकपा माओवादी कन्द्रको निरन्तर अध्यक्ष रहेका पुष्पकमल दहालले प्रचण्ड बिम्बको उचाइलाई उत्कर्षमा पुर्याउन आंसिक भएपनि सफल कोसिस गरेको इतिहासले पुष्टी गरिसकेको छ ।

बाबुराम भट्टराईलाई जनयुद्धले लालध्वजको गहन जिम्मेवारी सुम्पियो तर बर्तमानमा आइपुग्दा लालध्वज बिम्ब कोमामा पुग्यो । लालध्वजा फहराउने समाजवादको यात्रामा बाबुराम आफू स्वयं हसिया हथौडाको लालध्वजामा रहेनन् । किरण र बिप्लब जस्ता बिम्ब पनि वर्तमानमा आइपुग्दा एकादेशको कथाका पात्र जस्ता गन्तब्य बिहिन यात्री बनेर सिमित हुनपुगेका छन् ।

वर्तमान सम्म आइपुग्दा प्रचण्ड पनि अब फिक्का बन्ने हो कि ? सर्बत्र चासो र चिन्ता बढेको छ । तत्कालका घटनाक्रम हेर्दा महान जनयुद्ध, माओवाद अनि एक्काइसौं शताब्दीको जनवाद सबैसबै जबरजस्त फिक्का बनाइदै छ । परिवर्तित नेपाली समाजको जननी यी बिम्ब आदर्शहरु फिक्का, तिरस्कृत, अपहरित र बलत्कृत हुँदै गर्दा प्रचण्ड कसरी सजिव रहन सक्ला ? पार्टी एकताका नाममा आदर्श सबै छाडेर कसरी समाजवादको प्रचण्ड यात्रा परिणाममुखी बन्ला ?

नेपालमा अबहुने समाजवादी क्रान्तिको प्रचण्ड को बन्ला ?

प्रचण्डयुगले खनेको जगमा हुर्किएको सुन्तलाको बिरुवामा यदि कसैले जबरजस्त अम्बक फलाउछु भन्छ भने त्यो बिज्ञान बिपरित हुन्छ । वर्तमानमा हावी भैरहेको अम्बकरुपी जमातले अबको समाजवादी यात्रामा प्रचण्ड शब्दको प्रयोग गर्न पनि नपाइने भन्ने शर्त राखेमा के पुष्पकमल दाहालले स्विकार्लान् ? हिंजोआज विकसित एकताको बहस प्रचण्ड निशेध तर्फ उन्मुख देखिन्छ ।

बिडम्बना ! प्रचण्डयुगले विकास गरेको समाजवादको यात्रामा निस्किने वर्तमान तयारीमा स्वयं प्रचण्ड भने आफ्नो नाभीको कस्तुरी खोज्न अर्काको बारीमा पसेको देखिन्छ । आफ्ने सुवास र सुगन्धले उन्यु घारीलाई समाजवादको फुलबारीमा प्रवेश गराउने प्रचण्डको सहासले चमत्कार गर्न सकोस् ।

माक्र्सवाद–लेनिनवाद – माओवादको सिर्जनशिल प्रयोगबाट समाजवादको यात्रामा प्रचण्ड बिम्बमात्र होइन प्रचण्ड पथ बनेर उभिन सक्नुपर्छ । तब मात्र बर्गविहिन समाजको परिकल्पनाले क्रमशः सार्थकता पाउने छ । प्रचण्ड ब्याक्तिबनेर होइन युगको आवस्यकता, युगको सामाधान र परिणाम बनेर समाजवादमा फक्रिनु पर्दछ ।

प्रचण्ड बिम्ब चमत्कार, फ्युजन, छलाङ लगाएतका मौलिक श्रृङखलाबाट उतारचडबका कयौं घुम्ती र मोडहरु छिचोलेर नेपाली समाजको स्पन्दन स्पन्दनमा समाजवादको बिरुवा हुर्काउदै छ । तर यो बिरुवामा इतिहासको सिंचाईले मात्र पुग्दैन वर्तमानको अझ धेरै रगत र पसिनाले सिंचित गर्नु पर्छ । नत्र समाजवादको स्वर्णीम सपना, सपनामा सिमित हुने खतरा छ ।

नेपाली समाजले अबहुने समाजवादी क्रान्तिको आवस्यकतामा लखन थापा, गंगालाल अनि दिलबहादुर रम्तेलहरु फेरी जन्माउनु पर्ने छ । तर प्रचण्डको कुशल नेतृत्वले मात्र क्रान्तिको त्यो जहाजको सफल अवतरण गराउने सम्भावना जीवित देखिन्छ । प्रचण्ड त्यो हो जसले शान्तिमोर्चा र क्रन्तिको मोर्चा दुबैलाई सफलता पूर्वक हाँकेको छ । तसर्थ प्रचण्ड पात्र होइन प्रबृत्ति हो , भाषण र नारा होइन परिणाम हो ।

अबको समाजवादी क्रान्तिको नवयुगमा पनि पुष्पकमल दहालले नै प्रचण्ड बिम्बको उचाई र गौरवपूर्ण गरिमा कायम गर्न सक्लान ? कालो गए गोरो आउछ भनेझैं नवयुगमा पुष्पकमल प्रचण्ड बन्न नसकेमा अर्को कोही पक्कै प्रचण्ड बनेर यगुको जिम्मेवारी पूरा गर्ने छ ।

बदलिदो नेपालको समाजवाद उन्मुख वर्तमान कम्युनिष्ट राजनीतिमा प्रचण्ड बिम्बमा को स्थापित हला ? सबैको चासो र चिन्ताको बिषय रहेको छ यतिबेला । तसर्थ अध्यक्ष पुष्पकमल भन्नु भन्दा पनि अध्यक्ष प्रचण्ड भन्नु इतिहास प्रतिको सम्मान तथा सार्थकता हुन्छ ।

वर्तमान क्षणिक समयसम्म त इतिहासको ब्याजले जिवित रहन सक्छ तर इतिहासको ब्याजले मात्र सिंचित वर्तमान क्रमशः कुपोषित हुन्छ । समयसापेक्ष गतिशिल प्रचण्ड बन्ने अवसर धेरैलई समाजवाद तर्फको यात्राले पक्कै दिनेनै छ । नेपालको अबको समाजवादी क्रान्तिको युगमा पुष्पकमल दहालको होइन प्रचण्डहरुको आवस्यकता छ । प्रचण्ड र पुष्पकमलका बीचको दोस्रो जनयुद्धले समाजवादी क्रान्तिलाई निर्देशित गर्ने छ । प्रचण्ड समयको माग हो ।

डण्डिराज घिमिरे

तपाईको प्रतिक्रिया