Online Bichar
आइतबार, बैशाख १६, २०८१ | Sunday, April 28, 2024

ध्रुव घिमिरे
काठमाडौं,  १९  साउन  ।  परीक्षार्थीले लोकसेवा आयोगको परीक्षामा गर्ने अक्सर गल्ती के–के हुन् ?
लोकसेवा आयोगको परीक्षामा थोरै सिटका लागि धेरैजना प्रतिस्पर्धीहरू सहभागी हुने भएकाले कलेजस्तरीय र अरू परीक्षाभन्दा फरक ढंगले उपस्थित हुनु जरुरी हुन्छ ।

परीक्षार्थीले लोकसेवा आयोगको परीक्षामा मुख्य रूपमा तीनवटा कुरामा गल्ती गरेको पाइन्छ । पहिलो, पर्याप्त तयारी तथा योजनाविना परीक्षार्थीहरू परीक्षा हलमा आएका हुन्छन् । पर्याप्त तयारी तथा योजनाविना परीक्षामा सामेल हुनु केवल परीक्षाको औपचारिकता निर्वाह गर्नु मात्र हो । दोस्रो, परीक्षार्थीहरू सोधिएको प्रश्नको गहिराइमा नपुगी हतारमा उत्तर लेखन कार्यमा लाग्दछन् । प्रश्नले मागेको भन्दा आफूले जानेको उत्तर लेख्नमा परीक्षार्थीहरू बढी केन्द्रित हुन्छन् । यस किसिमको लेखाइले जाँचकी र परीक्षार्थीबीच बुझाइमा फरकपना सिर्जना हुन जान्छ ।

कुनै पनि परीक्षामा जाँचकीलाई लेखाइबाट प्रभावित पार्न सकिएन भने परीक्षार्थी असफल हुनु नै हो । तेस्रो, परीक्षार्थीहरूले प्रभावकारी समय व्यवस्थापनमा ध्यान पु¥याएका हुँदैनन् । उदाहरणका लागि यदि तीन घन्टाको परीक्षामा चारवटा प्रश्न हल गर्नु छ भने अक्सर परीक्षार्थीले पहिलो प्रश्नको उत्तर लेख्दा नै एक घन्टाभन्दा बढी समय लगाएका हुन्छन् । परीक्षामा सफलता पाउन निर्धारित समय अर्थात् ४५ मिनेटको समयसीमाभित्र प्रत्येक प्रश्नको उत्तर दिनु आवश्यक हुन्छ ।

बढीभन्दा बढी अंक ल्याउन परीक्षार्थीले कुन–कुन कुरामा ध्यान पुर्‍याउनुपर्ला ?
बढीभन्दा बढी अंक ल्याउन परीक्षार्थीले मुख्य रूपमा पाँचवटा कुरामा ध्यान पुर्‍याउनुपर्छ । पहिलो, योजनाबद्ध अध्ययन र विषयवस्तुको बुझाइमा ध्यान दिनुपर्छ । अध्ययन गर्दा सकेसम्म आधिकारिक स्रोत सामग्रीमा ध्यान दिनुपर्छ । विषयवस्तुसँग सम्बन्धित ख्यातिप्राप्त लेखकका पुस्तकहरू, राष्ट्रिय–अन्तर्राष्ट्रिय रूपमा प्रकाशित अनुसन्धानमूलक लेख रचना, विज्ञ व्यक्तिहरूसँगको निरन्तर सम्पर्क तथा अन्तक्र्रिया परीक्षामा सफलता हासिल गर्ने मुख्य सूत्रहरू हुन् ।

दोस्रो, विगतमा सोधिएका प्रश्नहरूको पर्याप्त अभ्यास गरेर मात्र परीक्षामा सामेल भएको अवस्थामा लेखाइ परिपक्व र बढी कन्भिसिङ हुन्छ । तेस्रो, परीक्षामा उपस्थित हुँदा रिल्याक्स र कुल माइन्डमा जानु आवश्यक हुन्छ । खानपिन, सुताइ, शारीरिक तथा मानसिक सन्तुलनमा विशेष रूपमा ध्यान दिनुपर्छ ।

परीक्षाको अघिल्लो दिन परीक्षार्थी रातभर अध्ययन गरेर परीक्षा हलमा पुगेको खण्डमा उत्तरपुस्तिकामा लेख्ने समयमा परीक्षार्थी शारीरिक तथा मानसिक रूपमा कम सक्रिय हुन सक्छ । चौथो, प्रश्नले मागेको क्षेत्रमा मात्र उत्तर केन्द्रित गर्नुपर्छ । लेख्दा ‘भ्यालु एड’ गर्ने र आवश्यक कुरा मात्र लेख्नुपर्छ । अनावश्यक गन्थन र लामो भूमिका लेखनमा अलमलिनुहुँदैन । पर्याप्त उदाहरण र राष्ट्रिय–अन्तर्राष्ट्रिय असल अभ्यास समेट्नुपर्छ । पाँचौँ, लेखाइ निश्चित स्ट्रक्चरमा लेख्दा उपयोगी हुन्छ । उत्तरको सुरुवात र निष्कर्ष जाँचकीको मन जित्ने किसिमको हुनुपर्छ । बीचको भागमा पनि प्रश्नको मागअनुसार सिलसिलेवार, आकर्षक र सरल रूपमा प्रस्तुत हुनुपर्दछ ।

जाँचकीले कस्तो उत्तरको अपेक्षा गर्छ ?
जाँचकीले परिपक्व, सिर्जनशील र समालोचनात्मक उत्तरको अपेक्षा राख्दछ । लेखाइबाट नै जाँचकीले परीक्षार्थीको अध्ययनको स्तर तथा विषयवस्तुको ज्ञानको विषयमा बुझ्ने मौका पाउँछ । परिमाणात्मकभन्दा गुणात्मक लेखाइलाई प्रोत्साहन गर्दछ । सारमा भन्दा जाँचकीले सरल, सिलसिलेवार, तथ्यमूलक, प्रमाणमा आधारित र पर्याप्त अध्ययन तथा विश्लेषणसहितको उत्तरको अपेक्षा गर्दछ ।

परीक्षा हलमा छिरेपछि परीक्षार्थीले के–के कुरामा ध्यान दिनुपर्छ ?
परीक्षा हलमा छिरेपछि परीक्षार्थीले मुख्य रूपमा तीनवटा कुरामा ध्यान दिनुपर्छ । पहिलो, ‘कन्फिडेन्स लेभल’ बलियो हुनुपर्छ । बलियो आत्मविश्वास नै परीक्षामा सफलता प्राप्त गर्ने पहिलो कडी हो । आफू अरू प्रतिस्पर्धीभन्दा कमजोर छु भन्ने धारणा किञ्चित् मनमा लिनु हुँदैन ।

दोस्रो, प्रश्नलाई राम्रोसँग बुझेर मात्र उत्तरको सुरुवात गर्नुपर्छ । प्रश्नको पर्याप्त बुझाइविना सुरु गरिएको उत्तर सुरुदेखि नै फितलो हुँदै जान्छ । तसर्थ सुरुवातदेखि नै बुझाइको स्तर, उत्तरको ढाँचा र लेखाइको निखारपनमा विशेष जोड दिनुपर्छ । तेस्रो, परीक्षा हलमा बसिसकेपछि आन्तरिक र बाह्य कुनै वातावरणले प्रभावित हुनु हुँदैन । उदाहरणका लागि परीक्षा हलनजिक सवारी गुड्ने सडक भएमा सवारीको कोलाहल आउन सक्छ । परीक्षा हलभित्र पनि अरू परीक्षार्थीले अनावश्यक रूपमा हल्ला गर्न सक्दछन् । वा अन्य कुनै अनपेक्षित अवस्था आउन सक्दछ । यस्तो अवस्थामा कुनै हालतमा विचलित नभई आफ्नो लक्ष्यतर्फ केन्द्रित हुनु परीक्षार्थीका लागि हितकर हुन्छ ।

लोकसेवाको तयारी कसरी गर्दा उपयुक्त हुन्छ ?
लोकसेवाको तयारी गर्दा सुरुवातदेखि नै सकारात्मक सोच र दृष्टिकोणका साथ उपस्थित हुनु उपयुक्त हुन्छ । म गर्न सक्छु भन्ने भावना अन्तर्मनबाट आउनुपर्छ । आधिकारिक र खोजमूलक सामग्री अध्ययनमा विशेष जोड दिनुपर्छ । विज्ञसँगको छलफल, सहकर्मीसँगको सामूहिक अध्ययन र निरन्तरको अभ्यास नै लोकसेवामा सफलता पाउने मन्त्रहरू हुन् । एक–दुईपटक असफल हुँदैमा सक्दिनँ भन्ने धारणा राख्नु हुँदैन । निरन्तरको प्रयासले पक्कै पनि सफलता हासिल गर्न सकिन्छ ।लोकसेवा

तपाईको प्रतिक्रिया