Online Bichar
आइतबार, बैशाख ३०, २०८१ | Sunday, May 12, 2024

इलाम, १६ वैशाख २०८१ । इलाम क्षेत्र नम्बर २ मा शनिबार भएको प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको मतगणना सुरू भएको छ। इलाम नगरपालिका-७ स्थित गौतमबुद्ध सभागृहमा मतगणना सुरू भएको मुख्य निर्वाचन अधिकृत केशबप्रसाद घिमिरेले अन्नपूर्णलाई जानकारी दिए।

फाकफोकथुम गाउँपालिकाको वडा नम्बर १ बाट मतगणना सुरू भएको हो। त्यसपछि क्रमशः चुलाचुली र माङसेबुङ गाउँपालिका, माई, देउमाई र इलाम नगरपालिकाको मतपत्र गणना गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यहाँ कांग्रेस र एमालेबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ।

मतगणनास्थलमा ११ वटा सीसी क्यामेरा जडान गरिएका छन्। मतगणना स्थलमा भीडभाड हुन नदिन चोक बजारमा रहेको डस्प्लेबोर्डमा परिणाम सार्वजनिक गरिने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

उपनिर्वाचनमा ५९ दशमलव ७९ प्रतिशत मत खसेको थियो। शनिबार बिहान ७ साँझ ५ बजेसम्म भएको मतदानमा ६९ हजार दुई सय ८७ जनाले मतदान गरेका थिए। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार ३५ हजार एक सय ३५ पुरुष, ३४ हजार एक सय ५० महिला र दुई अन्यले मतदान गरेका छन्।

विसं २०७९ मङ्सिर ४ को प्रतिनिधिसभा निर्वाचनमा इलाम–२ बाट निर्वाचित नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन भएपछि रिक्त सो निर्वाचन क्षेत्रमा उपनिर्वाचन भएको हो।

नेपाली कांग्रेसका डम्बर खड्का, नेकपा एमालेबाट सुहाङ नेम्बाङ, राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बू र पहिचानबादीको तर्फबाट डकेन्द्र सिंह थेगिम, राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मी गुरूङ, जनमत पार्टीका प्रेमकुमार थाम्सुहाङ, एकीकृत समाजवादीका जीतबहादुर राईलगायत उम्मेदवार छन्।

 

तपाईको प्रतिक्रिया