Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024
अध्यक्ष कमरेड चिन्तन
नेपाल कम्युनिष्ट पार्टी, झापा
लालसलाम !!!
नेपालको समाजवादी क्रान्तिको महान यात्रामा नेपाल कम्युनिष्ट पार्टी झापाको मोर्चा हाँक्ने अध्यक्ष तथा कमाण्डरको जिम्मेवारी प्राप्त गर्नुभएकोमा कमरेडलाई सफलताको शुभकामना छ । कार्यसम्पादनको मूल्याँकनका आधारमा कार्यकाल सकुशल पूरा गरेका दिन कमरेडलाई कोटीकोटी बधाई पनि ज्ञापन गरौंला । कमरेडसंग कुनै व्याक्तिगत नभएर राजनीतिक धरातलबाट झापाको केही सन्दर्भहरु यो पत्र मार्फत उठान गर्दछु ।

“नेतृत्व कार्य हो पद होइन” डोनाल्ड एथको यो उद्दरणका आधारबाट पनि अनुमान गर्न सकिन्छ कमरेड चिन्तन पाठकले पक्कै पनि झापाको उर्बरिलो राजनीतिक चेतनाको मैदानमा आफूलाई कार्य सम्पादनका आधारमा अब्बल प्रस्तुत गर्नुहुने छ । कमरेडको वर्तमान नेतृत्व पक्कैपनि झापाको आजको आवस्यकताले जन्माएको हो भन्नेमा नेता कार्यकर्ता आस्वस्त छन् । कमरेडको नेतृत्व पदको रुपमा नभएर कार्यको रुपमा प्रत्यक्ष अनुभुत गर्न पाइयोस । पार्टी एकताको ऐतिहाँसिकतालाई सार्थक बनाउन प्राप्त गरेको गौरवपूर्ण अध्यक्षको यो अवसरको लागि फेरिपनि शुभकामना छ ।

बिडम्बना आज नेपालको कम्युनिष्ट राजनीति भने आदर्श गुमाउँदै नेतृत्वलाई कामको रुपमा भन्दापनि जबरजस्त पद ओगट्नुको रुपमा स्थापित गर्दै गएको छ । साम,दाम,दण्ड भेद जसरी भएपनि पद ओगट्न सक्नुनै राजनीतिक सफलता हो, काम भनेको गरेपनि ठिकै छ नगरे पनि ठिकै छ तर गुटको पुच्छर भने बफदारीताका साथ समाइरहनु पर्छ भन्ने मनोविज्ञानबाट राजनीति बदनाम बन्दै गएको छ । यो बिसंगतिबाट झापाको राजनीतिलाई कसरी बचाउने भन्ने चुनौति पनि कमरेडका सामु उत्तिकै पेचिलो छ ।

कमरेडलाई एउटा जिज्ञासा, कमरेड प्रशंसाको कत्तिको भोको हुनुहुन्छ ? टोम पेटर्सले भनेका छन् “नेतृत्वले शुभेच्छुक निर्माण गर्दैन, उसले धेरै नेतृत्व बनाउँछ” । कमरेड तपाईंको कार्यकाल सम्पन्न हुँदैगर्दा नेकपा झापाको नेतृत्व गर्नसक्ने धेरै नेताहरु विकास हुन सकुन् । प्रशंसाको भोकले तपाईंले भजन मण्डली खडागर्दै जानुभयो भने कमरेड त्यहाँ अगाडि हिंडेर नेतृत्व गर्नेहरु होइन गुटको पुच्छर समाएर पछाडि हिंड्नेहरुको जत्था मात्र उत्पादन हुनेछ । त्यसकारण कमरेड तपाईंको कार्यकालमा शुभेच्छुक पुजारी होइन युवा पुस्ताका आदर्श नेताहरु झापामा विकासहुन पाउन ।

कमरेड वर्तमानको बारेमा मेरो बुझाइ यस्तो छ है, गलत भए सल्लाहा सुझाब पाउँ
नेपाल अहिले सामन्तवाद पछिको पूंजीवादी ब्यवस्थामा छ । नेपाली जनताले पूंजीवादी ब्यवस्था स्थापनाको लागि रगत बगाएको हुदैहोइन । समाजवादी राज्य ब्यवस्था स्थापनाका लागि आजसम्मका हाम्रा सबै संघर्षहरु केन्द्रित हुन् ।

पूंजीवादी ब्यवस्थामा जनताको पहुँच कमजोर हुँदै जान्छ र स्वनिर्णयको अधिकार खोसिदै जान्छ । श्रोत,साधन माथि नाफाको आधारमा सिमित ब्याक्ति र माफिया समुहले कब्जा जमाउदै जान्छन् । यो पूंजीवादको बिशेषता हो । पूंजीवाद शुद्ध पैसामा, नाफामा, कमिसनमा आधारित ब्यवस्था हो । यो ब्यवस्थामा धनी र गरिब बिचको खाडल झन् बढ्ने र सामुहिक हित, उन्नति र लोककल्याण क्रमशः कमजोर हुने निश्चितै छ ।

तसर्थ समाजवादीहरुले पूंजीवादलाई ठिक ढंगले उपयोग मात्र गर्नुका साथै समाजवाद यात्राका आधार तयार गर्नतर्फ लाग्नुको विकल्प छैन । हामी नेपालीहरुको अबको अर्जुन दृष्टि समाजवाद नै हो । महान उपलब्धिका रुपमा संविधानमा नै परिभाषित गरिएको त्यसैकारणले हो समाजवाद उन्मुख राष्ट्र नेपाल भनेर ।

विडम्बना !! समाज परिवर्तनको महान यात्राका चालकहरू अहिले देश, जनता, आदर्श र सिद्धान्त भुलेर सरकार चालकमा मात्र सिमित बनेर पुजीवादी ब्यवस्थामा विलय हुँनेहुनकी सर्बत्र चासो र चिन्ताको बिषय बनेको छ ।

झापा समाजवादी क्रान्तिको आधार इलाका बन्नुपर्छ

चिन्तन कमरेड परको कुरा नगरौं तपाईं हाम्रो जिल्ला झापाका स्थानीय सरकारहरुको कार्यशैली हेरौं त हाम्रो समाजवाद तर्फको यात्राको निर्मम कुठाराघात भेटिन्छ । झापाका धेरैजसो स्थानीय तहमा नेकपाको तर्फबाटा नेतृत्व पाएका तथा कार्यपालिकामा दुई तिहाई बहुमत भएका हाम्रा जनप्रतिनिधिहरु आफैंले तयार गरेको नीति कार्यक्रम र बजेट समाजवाद उन्मुख छ भन्न सक्छन् ?

नेतृत्वमा रहेर कमरेड तपाईंले निर्देशन पक्कै गर्नुभएको होला जनप्रतिनिधिहरुलाई समाजवाद उन्मुख नीति तथा कार्यक्रमहरु स्थानीय सरकारले पनि ल्याउनु पर्छ भनेर । तर किन तपाईंलाई टेरेनन कि नपत्याएका हुन् ?
स्थानीय सरकारहरुले आआफ्नो सापेक्षतामा समाजवाद उन्मुख मौलिक नीति कार्यक्रमहरु संविधानको दायरामा रहेर ल्याउन पाउछन् यो संघीय शाशन व्यवस्था हो । हिंजोको जस्तो काठमाण्डौंको मुख ताक्नुपर्ने केन्द्रिकृत ब्यवस्था त छैन आज ।

रक्तिम इतिहाँसको ओजपूर्ण जगमा सगौरव उभिएर मुलुककै नेतृत्व गरिरहेको झापाको कम्युनिष्ट राजनीतिले अबको समाजवादी क्रन्तिको अगुवाई गर्नुको बिकल्प पनि छैन कमरेड । जसकालागि उदहारणीय रुपमा अघिबढ्न केहि मैलिक योजनाहरु झापाबाट सुरु गर्ने हिम्मत गर्नुपर्दछ ।

कम्युनिष्ट पार्टीका नेता कार्यकर्ता स्वचालित औजार तथा स्वचालित मस्तिष्क हुन् । कसैले स्विच थिच्दा चल्ने नथिच्ता नचल्ने परजिवि नेता कार्यकर्ता र संगठन कम्युनिष्ट पार्टी भित्र कल्पना पनि गर्न सकिन्न ।

पार्टी, भातृ संगठन, जनबर्गीय संगठन, उत्तराधिकारी संगठन लगाएत सबैका सेल कमिटि देखि लिएर सबै कमिटिले पार्टीको पथप्रदर्शक सिद्धान्तको मर्म भावना भित्र रहेर सिर्जनशिल योजनाहरु उत्पादन गरी रचनात्मक कार्यक्रम लिएर जनताको बीचमा जान पाउने अधिकारक्षेत्र सुरक्षित हुन्छ सजिव पार्टीमा ।

कमरेड झापा पार्टीले यो आर्थिक बर्षको पहिलो ३ महिनामा गर्ने मौलिक कार्यक्रम तथा योजनाहरु बनाए हुनेथियो । पार्टी केन्द्रको निर्देशन तथा योजना अनुसरका गर्नैपर्ने नियमित काम, मिटिङ बैठक संगठन निर्माण आदि त क्रमश ब्यवस्थित रुपले अगाडि बढाउनै पर्यो ।

नियमित कार्यबाहेक झापा पार्टीका मौलिक योजना कार्यक्रमहरु पनि ल्याएदेखि सबै संगठनहरु र कार्यकर्ताहरु चलाएमान हुनेथिए । सरकारका प्रगतिशिल योजना तथा कार्यक्रमहरु पार्टी संगठनहरु मार्फत जनतासामु संप्रषण गर्न नसक्दा, जनतालाई बुझाउन नसक्दा प्रतिक्रियावादीहरु धमिलो पानीमा माछामार्दैछन् । प्रतिक्रियावादीको नुन खाएकाहरु कम्युनिष्ट पार्टीको बिरुद्धमा बिष बमन गरेर जनतालाई भ्रमित पार्दैछन् । कमरेड झापाबाट ब्यवस्थित अभियान तत्काल सुरु गरौं । कमरेड समस्यामात्र देखायो भनेर नभन्नुहोला सामाधानका उपायहरुको बारेमा समेत आवस्यक बहष छलफल गरौंला । आजलाई यतिमै पत्रको बिट मार्दछु । धन्यवाद ।
                                                                                                डण्डिराज घिमिरे‘बिबेक’
                                                                                              झापा, गौरादह, १६ साउन २०७६

तपाईको प्रतिक्रिया