Online Bichar
शनिबार, मंसिर १३, २०८३ | Saturday, November 28, 2026

भद्रपुर,  १४  साउन  ।  झापामा असारको अन्तिम र साउनको पहिलो साता आएको बाढीमा मृत्यु हुनेमा अधिकांश बालबालिका रहेका छन् । जिल्ला विपद् व्यवस्थापन समितिले झापामा बाढीमा परी मृत्यु भएका सात जनामध्ये चार जना बालबालिका रहेका जनाएको छ । एक जना अझै बेपत्ता छन् ।

समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी जनकराज दाहालका अनुसार अभिभावकको निगरानी बाहिर गएर खोलाको बाढी हेर्न जाँदा, पौडी खेल्दा र घर छेउको गहिरो खाडलमा पुग्दा बाढीको चपेटामा परी बालबालिकाले ज्यान गुमाएको पाइएको छ । मृत्यु हुने बालबालिकामा दमक–१० मावली घर भएकी छ वर्षीया एलिजा न्यौपाने, शिवसताक्षी–१० का नौ वर्षीय सौगात चापागाईं, मेचीनगर–१३ का अढाई वर्षीय अजित प्रसाईं र बाह्रदशी–३ हर्कटेका ११ वर्षीय विजय खड्का छन् ।

सहायक प्रजिअ माधवप्रसाद पोखरेलका अनुसार एलिजालाई भालु खोलाको कल्भर्टमा पानी खेल्ने क्रममा बाढीले बगाएको थियो भने सौगात खेल्ने क्रममै बनियानी खोला छेउमा पुग्दा बाढीमा परेका थिए । खेतमा गएका बुबालाई पछ्याउने क्रममा फुलबासा खोलामा चिप्लिएर अजितको मृत्यु भएको थियो । अर्का बालक विजयलाई अदुवा खोलामा पौडी खेल्ने क्रममा बाढीले बगाएको थियो ।

बाढीमा परी मृत्यु भएका कमल गाउँपालिका–५ का ६८ वर्षीय काजीबहादुर जोशी घर छेउको पैनीमा चिप्लिएर बगेका थिए भने भद्रपुर–२ का ५१ वर्षीय हर्कमान लिम्बूलाई मेची खोलाको बाढीले बगाएको थियो ।
हल्दिबारी गाउँपालिका–१ का ३८ वर्षीय वीरेन्द्र बुढाथोकीको घर नजिकैको तालमा डुबेर मृत्यु भएको थियो भने मेचीनगर–१४ का ४५ वर्षीय सुफल हस्दा हडिया खोला पार गर्न खोज्दा बाढीले बगाएर बेपत्ता भएका छन् । गत असार २७ गते बेपत्ता भएका उहाँको शव फेला परेको छैन ।

जिल्ला विपद् व्यवस्थापन समितिका अनुसार बाढीबाट झापामा ९६ परिवार पूर्ण विस्थापित, ६५५ परिवार प्रभावित, सात घरमा पूर्ण क्षति र ५४ घरमा आंशिक क्षति भएको छ । यसैबीच, कृषि ज्ञान केन्द्र झापाले जिल्लाको गौरीगञ्ज, हल्दीबारी, कमल र बाह्रदशी गाउँपालिका तथा अर्जुनधारा नगरपालिकाका किसानको बाली र खेतीयोग्य जमीनमा बाढीले बढी क्षति  पुर्याएको जानकारी दिएको छ ।

किसानले रोपाइँ गरिसकेका दुई हजार ७४२ बिगाहा जमीन बाढीले कटान गरेको र त्यसबाट रु एक करोड भन्दा बढीको बाली क्षति भएको ज्ञान केन्द्रका निमित्त प्रमुख शालिकराम भट्टराईले बताउनुभयो । सहायक प्रमुख जिल्ला अधिकारी पोखरेलले बाढीमा परी मृत्यु भएका व्यक्तिका परिवारले सङ्घीय र प्रदेश सरकारबाट राहत पाउने बताउनुभयो । रासस

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments