Online Bichar
आइतबार, बैशाख १६, २०८१ | Sunday, April 28, 2024

काठमाडौं,  १४  साउन  ।  प्राविधिक शिक्षा तथा तालिम परिषद् (सिटिइभीटी) ले प्राविधिक एसएलसी (टिएसएलसी) कार्यक्रम संचालन गरेको २५ वर्षपछि सो विषय खारेज गर्ने भएको छ । यो शैक्षिक सत्र वर्षपछि उक्त कार्यक्रममा भर्ना बन्द गरिने भएको छ ।

परिषद्ले शैक्षिक सत्र वर्ष २०७६/२०७७ का लागि अन्तिम पटक भर्ना खोलेको जनाएको छ । परिषदका सदस्य सचिव पुष्परमण वाग्लेले चिकित्सा शिक्षा आयोगको बैठकले भर्ना खोल्न स्वीकृत दिए लगत्तै अन्तिम पटकका लागि भर्ना खोलेको दाबी गर्नुभयो ।

तर राष्ट्रिय चिकित्सा शिक्षा ऐन–२०७५ को परिच्छेद ५ को आशयपत्र , सम्बन्धन तथा प्रत्यायनको दफा १५ को उपदफा ४ मा ऐन प्रारम्भ भएपछि परिषदले प्रमाणपत्रतह भन्दा मुनीका स्वास्थ्य शिक्षा सम्बन्धी कुनैपनि प्राविधिक कार्यक्रम संचालन गर्ने छैन भन्ने विषय उल्लेख भएकाले परिषदले टिएसएलसीको अन्तिम भर्ना खोलेको हो ।

सदस्य सचिव वाग्लेले उपदफा ५ र आयोगको सुझावको आघारमा भर्ना खुला गरेको बताउनुभयो । उपदफा ५ मा परिषदले संचालन गरेको प्रमाणपत्र तहभन्दा मुनिका स्वाथ्य शिक्षा सम्बन्धी कुनैपनि प्राविधिक कार्यक्रमहरु तोकिए बमोजिम हटाउने (फेज आउट) र तोकिएको मापदण्ड बमोजिम स्तरोन्नती (अपग्रेट) गरिने छ भन्ने उल्लेख भए अनुसार परिषदले भर्ना खोलेको हो ।
पछिल्लो पटक प्रतिष्ठानको नाममा विभिन्न शैक्षिक संस्थालाई सम्बन्धन दिन खोजेको आरोप खेपिरहेको परिषद्ले ऐन विपरित टिएसएलसीमा भर्ना खोलेको भन्दै आलोचना खेप्दै आएको थियो ।

तर सदस्य सचिव वाग्लेले परिषदको नियम अनुसारनै भर्ना खुला गरेको र केही प्रतिष्ठानलाई इन्जिनियरिङ तर्फका केही विषयमा सम्बन्धन दिने प्रकृयाका लागि कार्यविधि निर्माण गरिरहेको जानकारी दिनुभयो ।

परिषदले टिएसएलसी कार्यक्रम बिसं २०५० देखि शुरु गरेको थियो । २६ वर्ष लामो इतिहास बोकेको कार्यक्रम यो वर्ष अन्तिम भएको छ–सदस्य सचिव वाग्लेको भनाई थियो । ‘ऐन अनुसार अपग्रेड गरेका अन्य विषयमा कक्षा संचालन गर्ने कि त्यस्ता संस्थाको सम्बन्धन खारेज गर्ने भन्ने विषयमा छलफल भैरहेको सदस्य सचिव वाग्लेले जानकारी दिनुभयो ।

परिषदले टिएसएलसीमा सिएमए, अनमी, हेल्थ असिष्टेन्ट, ल्याब असिष्टेन्ट, आयुर्वेद लगायत २ सय ३८ कार्यक्रम संचालन गर्न देशभरका १ सय ३३ निजी संस्थालाई भर्ना लिन स्वीकृत दिएको छ ।

परिषदले प्रदेश १ मा २९ , प्रदेश नम्वर २ मा १९, प्रदेश नम्वर ३ मा ३१, गण्डकी प्रदेश अन्तर्गत १२, प्रदेश नम्वर ५ मा २९, कर्णाली प्रदेश अन्तर्गत ५ र सुदुरपश्चिम प्रदेश अन्तर्गत ८ संस्थालाई कक्षा संचालन गर्न स्वीकृत दिएको छ । करिब ८ हजार ५ सय विद्यार्थीको हितको लागि यो वर्ष अन्तिम पटक भर्ना खुला गरेको वाग्लेको भनाई थियो । १८ महिने कोर्ष रहेको टिएसएलसी पढ्ने विद्यार्थीले एसइई परीक्षामा न्युनतम ई ग्रेड ल्याएका विद्यार्थीलाई समेत भर्ना गर्ने उल्लेख गरेको छ ।नेपाल समाचारपत्र

तपाईको प्रतिक्रिया