काठ्माडौं, १२ साउन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक फेरि सरेको छ । आइतबार (आज) का लागि तय भएको नेकपाको बैठक सोमबार (भोलि) दिउँसो ३ बजेका लागि सारिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।
आज अपराह्न बोलाइएको बैठकबाट स्कुल विभागको नेतृत्वको टुंगो लाग्ने आशा गरिएको थियो तर अध्यक्षद्धय केपी शर्मा ओली र प्रचण्डबीच छलफलपछि बैठक स्थगित भएको हो ।
पार्टी एकता निष्कर्षतिर पुगे पनि नेकपाले स्कुल विभाग प्रमुख टुंग्याउन सकेको छैन । स्कुल विभागको नेतृत्व एमाले पक्षले पाउनुपर्ने माग राख्दै गर्दा माओवादी पक्ष पनि यसमा दावी गर्दै आएको छ
यसअघि, अध्यक्षद्वय ओली र प्रचण्डबीच शनिबार भएको ३ घण्टा लामो बैठकपछि आजको लागि बैठक तय गरिएको थियो । सचिवालय बैठक अघिल्लो हप्तादेखि नै लगातार सरिरहेको छ ।
स्कुल विभागमा सचिवालय सदस्यद्वय नारायणकाजी श्रेष्ठ र ईश्वर पोखरेलको दाबी छ । पोखरेलले आफूले नेतृत्व गर्न पाउनुपर्ने माग राखेपछि प्रवक्ता श्रेष्ठ पनि विभागको नेतृत्वको दावी गरेका थिए, त्यसपछि विवाद चुलिएको थियो । उता, घनश्याम भूसाल र वेदुराम भुसाल पनि आफूले पाउनुपर्ने दावी गर्दै आएका छन् ।






