Online Bichar
बुधबार, बैशाख १२, २०८१ | Wednesday, April 24, 2024

काठमाडौं । खड्ग प्रसाद ओली (के.पी ओली)को जन्म बाबु मोहनप्रसाद ओली र मधुमाया ओलीको पुत्रका रुपमा वि.स. २००८ साल, फागुन ११ गते शनिबार तेह्रथुम जिल्लाको इवा गाविस २ तीनसल्लेमा भएको हो । चार बर्षको हुँदा आमा मधुको मृत्युपछि ओलीलाई उनकी हजुरआमा राममायाले हुर्काएकी थिइन् ।

कक्षा ४ सम्मको अध्ययन तेहूथुममा पूरा गरेका ओलीले झापाको आदर्श माध्यमिक विद्यालयबाट विक्रम संवत् २०२८ सालमा प्रवेशिका परिक्षा उतिर्ण गरेका थिए । ओलीको परिवार २०२२ सालमा बसाइसराइ गरी झापा झरेको थियो । सानैमा आमाको माया गुमाउनुपरेको र गरिब परिवारमा जन्मिएका कारण उनको बाल्यकाल निकै कष्टपूर्ण बितेको थियो । पढाईको सिलसिलामा झापा आन्दोलनका योद्धा रामनाथ दाहालसँग उनको भेट भयो ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

चलाख र राम्रो विद्यार्थी देखेपछि दाहालले ओलीलाई आफ्नै घरमा राखेर पढाएका थिए । दाहालको प्रेरणाले ओलीमा राजनीतिक झुकाब बढ्दै गयो । विद्यार्थी छँदादेखि नै मीठो र प्रष्ट ढंगले बोल्ने ओली अरुको खुलेर आलोचना गर्थे । एसएलसी सकेपछि ओलीले गाउँकै प्राथमिक विद्यालयमा पढाउन थाले । तर, राजनीतिमा सक्रिय हुन थालेपछि पढाउने कामलाई निरन्तरता दिन सकेनन् । वि.स २०२३ सालदेखि राजनीतिमा छिरेका ओलीले २०२७ सालमा कम्युनिष्ट पार्टीको सदस्यता लिए र त्यही बर्षदेखि भूमिगत भए ।

पञ्चायती शासन बिरोधी आन्दोलनमा लाग्ने क्रममा उनी २०२७ सालमा पक्राउ परे र १४ बर्षसम्म जेलमा रहे । उनी पहिलो पटक २०२७ फागुन १६ गते झापाबाट गिरफ्तार भए । पंचायती प्रशासनले जेलजीवनका क्रममा ओलीलाई ९ पटक ठाउँसारी गरेको थियो । ओली २०२९ सालमा झापा आन्दोलन कमिटीको प्रमुख बने । २०४८ सालदेखि उनी तत्कालिन नेकपा माले हुुँदै अहिलेसम्म पार्टीको माथिल्लो कमिटिमा रहँदै आएका छन । ओली २०६५ फागुनमा बुटवलमा भएको एमालेको आठौं महाधिवेशनमा नेता झलनाथ खनालसँग अध्यक्षमा पराजित भएका थिए । तर २०७१ सालमा काठमाडौंमा भएको नवौं महाधिवेशनबाट नेता माधवकुमार नेपाललाई पराजित गरेर उनले पार्टीको नेतृत्व सम्हालेका थिए ।

ओली वि.स. २०४८, २०५१ र २०५६ को आम निर्वाचनमा झापा क्षेत्र नं ६ बाट प्रतिनिधिसभामा निर्वा्चित भएका थिए । पहिलो संविधान सभा निर्वाचन २०६४ मा भने उनी झापाको क्षेत्र नं ७ बाट पराजित भए । २०७० सालको दोस्रो संविधानसभा चुनावमा भने उनी झापा ७ बाटै विजयी बने । ओली यसअघि परराष्ट्रमन्त्री, गृहमन्त्री उपप्रधानमन्त्री हुँदै प्रधानमन्त्री समेत भइसकेका छन ।

नयाँ संविधान घोषणा भएलगत्तै माओवादीको समर्थनमा २०७२ असोज २४ गते उनी पहिलो पटक प्रधानमन्त्री भएका थिए । प्रचण्डको प्रस्तावमा प्रधानमन्त्री बनेका ओली प्रचण्डकै अविश्वास प्रस्तावका कारण २०७३ साउन २३ गते सत्ताच्युत भएका थिए । त्यसको झण्डै डेढ बर्षपछि उनी दोस्रो पटक पनि प्रचण्डकै प्रस्तावमा प्रधानमन्त्री बनेका छन । ओली विगत १० बर्षयता मृगौला रोगसँग लड्दै आएका छन् । काम नगरेपछि भारतमा उनको मृगौला प्रत्यारोपण गरिएको थियो । स्वास्थ्य अवस्था प्रतिकूलता हुँदाहुँदैपनि ओलीले झण्डै पाँच दशक लामो राजनीतिक जीवन उचाईमा पुर्याएका छन ।

प्रधानमन्त्रीका रुपमा पहिलो कार्यकालमा भारतले गरेको नाकावन्दीको सामना गरेको भन्दै उनको प्रसंसा भएको थियो । प्रधानमन्त्रीका रुपमा ओलीको दोस्रो इनिङस बिहीबार सुरु भएको छ । ओलीका लागि अबको बाटो अवसर र चुनौतीको दोसांधमा छ ।

यो कार्यकालमा राम्रो काम गरेर मुलुकलाई समृद्धिको दिशामा लैजान सके उनी एउटा राजनेताका रुपमा रहनेछन् । सकेनन् भने उनीमात्र होइन समग्र नेकपा एमालेले नै भविष्यमा त्यसको मूल्य चुकाउनुपर्नेछ ।

तपाईको प्रतिक्रिया