Online Bichar
शनिबार, जेठ २०, २०८० | Saturday, June 3, 2023
२०५२ साल फागुन १ गते बाट तत्कालीन नेकपा माओवादीले औपचारिक रूपमा सशस्त्र जनयुद्धको घोषणा गरेको थियो । थुप्रै युवाहरु देशको आमूल परिवर्तनको सपना सजाएर जनयुद्धमा होमिए । हिजो २३औं जनयुद्ध दिवस मनाइयो । तर, पार्टीले जनयुद्ध दिवस मनाइरहँदा सयौं सहिद, बेपत्ता र घाइते परिवारको घाउ पुनः बल्झिएको छ । यो देशको परिवर्तनमा अतुलनीय योगदान पुर्याएका बेपत्ता तथा सहिद परिवार के भन्छन ? शहीद तथा वेपत्ताका परिवारको आँसु मिश्रित आवाज । प्रस्तुती – डण्डिराज घिमिर, झापा

शहीद बेपत्ताको अपमान भएको छ

 

 

 

 

 

भीम बहादुर वस्नेत
दमक–१, झापा
(वेपत्ता पुष्पराज र धिरेन्द्र वस्नेतका बुबा)

मेरा पाँच भाइ छोरामा माइलो पुष्प र कान्छो धिरेन्द्र हाल सम्म वेपत्ता छन् । पुष्प २०६० साल मंसीर १९ गते कालिमाटीबाट र धिरेन्द्र २०६० साल मंसिर २८ गते कलंकीबाट तत्कालिन साही सेनाद्वारा गिरफ्तार गरी हालसम्म वेपत्ता छन् । दुवैलाई ज्ञानेन्द्रका फाशिष्ट सेनाको भैरवनाथ गणबाट बेपत्ता पारिएको हो । नेकपा माओवादीको शसस्त्र युद्धबाट यो देशमा सर्वहाराको अधिनायकत्व स्थापित गर्न गणतन्त्र ल्याउन र समाजवाद हुँदै साम्यबाद सम्म देशलाई पु¥याउने सपना बोकेका मेरा छोरा चेतनामा धेरै अगाडि थिए ।

मलाई गर्व छ पुष्प र धिरेन्द्र जस्ता देशका सपुतको वुबा हुन पाउँदा । उनीहरु जस्ता यो देशका होनाहार छोराहरुको त्याग र वलिदानबाट यो देशमा गणतन्त्र आएको छ । थुप्रै उपलब्धी भएका छन् । अब ती उपलब्धीलाई ब्यवहार संग जोडेर छिटो जनतालाई असल शासनको अनुभुति दिलाउ । राज्य संचालन गर्नेहरु हो आरोप प्रत्यारोप होइन जनयुद्ध र जनआन्दोलनको भावना अनुसार देशलाई अघि बढाउ । वेपत्ता योद्धाहरुको अवस्था छिटो सार्वजनिक गर । सरकार चलाउनेहरुले ख्याल गर तीनै शहीद वेपत्ताको रगतबाट प्राप्त उपलब्धीमा ढलीमली गर्दैछौ तर किन शहीदकै अपमान गर्छौ ।

ब्यवहारबाट शहीद, वेपत्ता, घाइते तथा द्वन्द्वपिडीत प्रतिको सच्चा सम्मान गर्न सिक नेताहरु, भषण र गफमा मात्र होइन । ब्यक्तिगत लाभ र नातावाद क्रिपावादमा पार्टी संगठनको दुरुपयोग नगर । शहीदको रगतको सम्मान गर्छौभने फुटेको पार्टीलाई एक ढिक्का बनाउदै सिँगो कम्युनिष्ट पार्टी बनाऊ । शहिद र वेपत्ताहरुको सपना साकार पार्न यो देशको सर्वाङ्गिण विकास र वास्तविक परिवर्तनमा अघिबढ । स्वर्थ भन्दा माथिउठेर अघि बढ ।

निजी स्वार्थको राजनीति नगर

 

 

 

गंगाराम सुवेदी
कमल गाउपालिका– १, झापा,
(शहीद रमेश सुवेदीका बुबा )

तीन भाइ छोरा र एउटी छोरीमा रमेश मेरो पहिलो सन्तान हो । सानैदेखि ऊ निडर स्वभावको र पढ्न तेज थियो । सेवा भावना सानैदेखि थियो उसमा । कलेज पढ्न थालेपछि विद्यार्थी राजनीतिमा सम्लग्न भएछ । २०५७ सालमा गौरादह बहुमुखी क्याम्पसमा क्रन्तिकारी विद्यार्थी संगठनबाट स्ववियुमा उपसभापतिमा चुनाव जितेर निकै लोकप्रीय भएको थियो । गाउँ घरमा समेत सबैको प्यारो थियो । उमेरले सानै भएपनि उसको व्यवहार परिपक्व भरलाग्दो हुन्थ्यो । पछि माओवादी पार्टीको पूर्णकालीन भूमिकगत कार्यकर्ता भयो ऊ । देशमा गणतन्त्र ल्याएरै छाड्ने सपना थियो उसको ।

२०६१ साल मंसीर ६ गते ज्ञानेन्द्रका सेनाले गोली हानी हत्या गरे रमेशको । मेरो बुढेसकालको सहारा खोसियो । यो देशको लागि मेरो छोरो वलिदान भयो । अन्याय, अत्याचार र उत्पीडनको अन्त्य गर्न उ शहीद भयो । तर अहिले देशमा शहीदको अपमान भएको छ । जनताको भावना र शहीदको सपना अनुसारको नया नेपाल बन्ने छाँटकाँट छैन । भ्रष्टचार झन बढेको छ । देश फटाहा बदमासहरुको नियन्त्रणमा पुगेजस्तो लाग्छ । नेता सबै आफ्नो निजी जीवनको स्वार्थको राजनीति गर्दारहेछन् ।

कुर्सीका लागि झगडा गर्दछन् । पार्टी फुटाउँछन् । देशको यही अवस्था हो भने मेरो छोराले यो देशको लागि रगत बगायो, शहीद हो भनेर गर्व गर्ने ठाउँ नहुने भो । खवरदार नेताहरु जनताको भावनामा खेलवाढ नगर । बोलेको पुरा गर । छिनछिनमा कुरा नफेर जनता तर्फ फर्क । कम्युनिष्ट सबै एकजुट बन ।

कि सास, कि लाश देऊ

टंकादेवी भट्टराई
साबिक वैगुन्धुरा–९, हाल गौरादह–१ झापा
(वेपत्ता शान्तिराम भट्टराइकी पत्नी)

काखमा दुईवटी साना छोरी थिए । खेती किसानी नै हाम्रो परिवार चलाउने मुख्य आधार थियो । मजदुर र किसानको पक्षमा जबसम्म संविधान बन्दैन, जबसम्म जमिन जोत्नेको हुँदैन तबसम्म यो देशको विकास र मुक्ति सम्भव छैन भन्ने अठोट थियो उहाँको । २०४६ सालदेखि नै मेरो श्रीमान शान्तिराम भट्टराई एमाले पार्टीको सक्रिय कार्यकर्ता र किसान संगठनमा जिम्मेवार हुनुहुन्थ्यो पछि २०५७ सालदेखि तत्कालिन नेकपा माओवादीबाट मजदुर र किसानको हितमा संघर्ष गर्नुपर्छ भनेर माओवादी पार्टीमा सक्रिय हुनु भयो ।

उहाँ अखिल नेपाल ट्रेड यूनियन महासंघको केन्द्रिय सदस्य तथा नेकपा माओवादी झापा जिल्ला कमिटि सदस्य समेत हुनुहुन्थ्यो । पार्टी संगठनकै काम विशेषले उहाँ काठमाण्डौ गएको बखत २०६० साल मंसिर ५ गते भैरवनाथ गणबाट खटिएको शाही सेनाद्वारा पक्राउ परी हाल सम्म वेपत्ता बनाएको छ ।

शास भएपनि अथवा लास भएपनि हाम्रो मान्छे सार्वजनिक गर । लोकतान्त्रिक गणतन्त्र आएपछिका सबै सरकारसँग हाम्रो वेपत्ताका परिवारको यही माग छ । हालसम्म कसैले पनि वास्ता गरेनन् । मारेको हो भने मारेको हो भन्देउ हामी हाम्रो संस्कार अनुसार काजक्रिया गर्छौ पटक पटक राज्यको ध्यान आकर्षण गराउँदा पनि सरकार चुप छ । झापमा हामी २२ वटा पेपत्ता योद्धाका परिवार छौ । आँशु पिएर दुःखको भूमरीमा जसोतसो प्राण बचाएका छौ । माओवादी पार्टीले केही गर्छ की भन्ने आशा थियो त्यो पनि पार्टी फुटेसँगै चकनाचुर भयो । अहिले पार्टी पनि कमजोर भयो ।

जनयुद्ध लड्दा नेता सबै एकजुट थिए तर अहिले फुटेर धोका दिए । वीर शहीद तथा वेपत्ता योद्धाको अपमान भएको छ । मजदुर, किसान, गरीब सर्वसाधारणको जीवनमा लोकतन्त्र, गणतन्त्र केही पनि आएको छैन । यो नामको गणतन्त्र तिनै मुठ्ठीभर पूँजीपतिलाई मात्र आएको छ । श्रीमानको सपना पुरा होस भन्ने नै मेरो चाहना छ । हाल म २ वटी छोरी साथ मजदुरी गर्दै गौरादह–१ मा अस्थायी वसोबास गर्दैछु । मलाई छोरी पढाउन र २ छाक टार्न नै कठिन छ ।

तारा ! तिमी कहाँ छौ ? छिट्टै आउ ल !

चन्द्रकला रिजाल
गौरादह–३, झापा
(बेपत्ता तारा रिजालकी आमा)

तारा मेरो काइँलो छोरो हो । मलाई साह्रै माया गथ्र्यो । कहिल्यै झुटो बोल्दैनथ्यो । कहिल्यै रिसाउँदैन थियो । जनता मा.वि. गौरादहमा पढ्थ्यो । पछि राजनीतिमा लागेको छ भन्थे । म त राजनीति बारे केही जान्दिन । उसलाई पनि नानी राजनीति नगर भने मानेन । आमा म देश र जनताको भलो गर्ने असल काम गर्छु, समाजको सेवा गर्दैछु भन्थ्यो । कहिलेकाहीँ साथीहरु लिएर आउथ्यो ।

उसका साथीहरु आमा भन्दै आउँछन् अहिले पनि तर उ नआएको १५ वर्ष भयो । उसकै साथीहरुले भनेको मेरो तारालाई २०५९ साल पुष १३ गते भारतीय प्रहरीले सिलिगुढीमा पक्रेर त्यही दिन नेपाल बुझाएका अरे तर खोई अहिलेसम्म आएको छैन । चाराली सेनाको व्यारेकबाट ऊ हालसम्म वेपत्ता छ । सेना पुलिसले त सुरक्षा दिन्छ भन्थे तर मेरो तारालाई कहाँ लगे ? किन कसैले पनि खोजि गर्दिदैन ?

बाटामा कोही ३०–३५ वर्षको मान्छे हिँडेको देख्दा मेरै छोरो पो हो की जस्तो लाग्छ । अहिले माओवादीका ठूला ठूला नेताहरुलाई भेट्दा मेरो तारा कहाँ छ ? छिटो बोलाइ दिनुहोस् भन्छु । उसका साथीहरु ठूला ठूला मन्त्री पनि भए अरे । तर मेरो बुढेसकालको साहारा मेरो छोरो ताराको अहिले सम्म पनि जिउदो छ वा छैन अत्तोपत्तो छैन् । म त डाँडा माथिकी जुन भैसके ताराले आमा भनेर बोलाएको सुन्नु छ । देशमा गणतन्त्र आयो भन्छन् , संविधान पनि आयो अरे तर मेरो तारा अझै आएन ।

रगत बगाउनुको अर्थ भएन

रंगवती राजवंशी
सबिक धरमपुर–९, हाल झापा दमक–९
(शहीद शम्भु राजवंशीकी पत्नी)

हाम्रो पाँच जनाको परिवार थियो । दुःख गरेर परिवार चलेकै थियो । साबिक धरमपुर–९ मा सानो फुसको घर र २ कठ्ठा जमीन थियो । खेतीपाती र मजदुरी गरेर छोराछोरी पढाउँदै थियौ । श्रीमान राजनीतिमा सामान्य जानकारी र चासो राख्नुहुन्थ्यो पहिला देखि नै । देशमा कम्युनिष्टको शासन भयो भने गरीवहरुको मुक्ति हुन्छ । न्याय र समानता हुन्छ भनेर भन्नु हुन्थ्यो र माओवादी पार्टीमा लाग्नु भयो । घर परिवार पनि हेर्नुपर्छ यसरी हुँदैन छोराछोरी साना छन् भन्दा अब मेरो जीवन नै पार्टी हो, मलाई नरोक माओवादीले यो देशमा जित्नेछ हामी जस्ता गरिबका दुःखका दिन अन्त्य हुनेछन् भनेर सम्झाउनु हुन्थ्यो मलाई ।

पार्टीै काममा महाभारा गाविस जाँदा २०६१ चैत्र २१ गते त्यसबेलाको शाही सेनाले गोली हानी उहाँको हत्या ग¥यो । त्यसपछि मेरा दुःखका दिन थप कहाली लाग्दो बने । छोराछोरीको पढाइलेखाइ बन्द भयो । मेरो समस्यामा पार्टीले पनि वास्ता गरेन । पार्टीका नेताहरुले नचिने झै गरे । पछि देशमा माओवादीको सरकार बन्यो । माओवादी सबैभन्दा ठूलो पार्टी पनि भयो तर हामी जस्ता गरीवका लागि केही भएन ।

सबै गरीब झुपडीको दुःखको अन्त्य हुन्छ, न्याय, समानता हुन्छ भन्ने मेरो श्रीमानको सपना बेकार भयो । शहीदको रगतको कुनै अर्थ भएन । शहीदको बलिदानी यो देशले र माओवादी पार्टीले विर्सियो । ए नेताहरु गरीब जनतालाई नढाट दुःखमा साथ देउ नत्र भने हाम्रो आँशु र शहीदको रगतले तिमीहरुलाई धिक्कार्नेछ ।

 

 

 

तपाईको प्रतिक्रिया