काठमाडौं, २२ जेठ । लोक सेवा आयोगले कर्मचारी भर्ना गर्न खुलाएको विज्ञापनलाई लिएर सत्तारुढ सांसदले नै विरोध जनाएका छन् ।
संविधानको मूल भावना विपरित आयोगले निकालेको विज्ञापनले मुलुकलाई द्वन्द्वतर्फ लैजाने जनाउँदै सत्तारुढ सांसदले नै विज्ञापनको विरोध जनाएका हुन् । राज्य व्यवस्था समितिको बैठकमा नेकपा र समाजवादी पार्टीका सांसदले नै आयोगको विज्ञापनको विरोध गरेका थिए ।
बैठकमा समाजवादी पार्टीका सांसद रामसहाय यादवले स्थानीय तहको आफ्नो अधिकार क्षेत्र भित्र पर्ने विषयमा समेते विज्ञापन गरेकाले सच्याउन आग्रह गर्नुभयो । सरकारले विज्ञापन नसच्याए मुलुकमा ठूलो द्वन्द्व निम्तिनेतर्फ सरकारलाई सचेत पनि गराउनु भयो ।
यता, नेपाल कम्युनिष्ट पार्टी(नेकपा)की सांसद पम्फा भुसालले मुलुकमा थप आर्थिक बोझ हुने गरी लोक सेवा आयोगले कर्मचारीको नियुक्तीका लागि विज्ञापन खुला गरेकोमा आपत्ति जनाउनु भयो । गरिव जनताले तिरेको करबाट कर्मचारी र जनप्रतिनिधिहरुलाई सेवा, सुविधा थप गर्ने काम गर्नु अपराध सरह भएकाले कर्मचारीहरुको सेवा, सुविधा बढाउने काम सरकारले गर्न नहुने उहाँको तर्क थियो ।
लोक सेवा आयोगले केही दिन अघि प्रदेश र स्थानीय तहमा समेत कर्मचारी नियुक्त गर्ने गरी विज्ञापन खुला गरेको थियो । उक्त विज्ञापन संविधान र कानुन विपरित आएको सांसदको दावी छ ।






