काठमाडौं, ११ मंसिर २०८३ । सरकारले अनुचित लेनदेन (मिटरब्याज) (नियन्त्रण तथा नियमन) विधेयक संसद्मा लैजाने तयारी थालेको छ । यसका लागि गृहमन्त्रालयले विधेयकको मस्यौदा तयार पारेको छ ।
मिटरब्याजलाई नियन्त्रण र नियमन गर्न, अनुचित लेनदेन सम्बन्धी विषयलाई कसूर कायम, पीडितको अधिकारको संरक्षण र क्षतिपूर्ति उपलब्ध गराई आर्थिक कारोबारलाई व्यवस्थित गर्न आवश्यक भएको ऐन बनाउन लागिएको गृह मन्त्रालयले जनाएको छ ।
प्रस्तावित विधेयकमा अनुचित लेनदेन (मिटरब्याज) भनेको कस्तो लेनदेन हो भन्ने विषयमा छुट्टै दफा छ । यससम्बन्धी व्यवस्था दफा ४ मा छ । जसमा मिटरब्याज कारोबार गरेको मानिने १० वटा आधार प्रस्तुत गरिएको छ ।
मिटरब्याज कारोबार गरेको मानिने १० वटा आधार
(क) लेनदेन नभएको वा नगरेको रकम दिएको भनी वा लेनदेन गरेको वास्तविक रकमभन्दा बढी रकमको लिखत गर्ने वा गराउने,
(ख) लेनदेन गदकै बखत ब्याज रकम समेत सावाँमा जोडी लिखत गर्ने वा ब्याजलाई सावाँमा जोडी नयाँ लिखत गर्ने,
(ग) प्रचलित कानुनमा तोकिएको ब्याजदरभन्दा बढी ब्याजदरमा ऋण लगानी र असुल गर्ने वा ऋणको सावाँभन्दा बढी ब्याज लिने,
(घ) लेनदेन भएको भन्दा अगाडि वा पछाडिको मिति राखी लिखत तयार गर्ने वा खाली कागजमा ल्याप्चे सही छाप गराई आफू अनुकुलको लिखत कागज गर्ने वा ऋणीलाई लिखतको प्रति नदिने,
(ङ) ऋण लेनदेनको कारोबारमा नलेखिएको (खाली) वा लिएको रकमभन्दा बढी रकम उल्लेख गरी बाध्यकारी चेक काट्न लगाउने,
(च) ऋणीले तिरे बुझाएको रकमको भरपाई नदिने, लिखत नबनाउने वा भुक्तानीको प्रमाण लुकाउने,
(छ) भ्रष्टाचार, अपराधिक लाभ लगायतबाट आर्जित रकम क्यासिनो, ढुकुटी र ठेक्कापट्टा लगायतमा परिचालना गर्ने वा गराउने,
(ज) ऋण असुलीका लागि कुनै प्रकारको शारीरिक वा मानसिक हानि हुने गरी धम्की दिने वा हिंसा वा शोषण गर्ने,
(झ) अनुचित लेनदेनको आधारमा ऋणीको चल तथा अचल सम्पत्तिको हक हस्तान्तरण गरी लिने,
(ञ) एकै कारोबारको क्रममा समेत घरजग्गा पास, तमसुक, करार सम्झौता, चेक लगायतका धितो वापत एकभन्दा बढी लिखत खडा गर्ने ।
प्रस्तावित विधेयकको दफा ६ मा कसुर तथा दण्ड र सजाय सम्बन्ध व्यवस्था छ ।
दफा ६ को उपदफा १ अनुसार कसैले लेनदेन नभएको वा नगरेको रकम दिएको भनी वा दिएको वास्तविक रकमभन्दा बढी रकमको झुट्टा लिखत तयार गर्नु वा गराउनु हुँदैन ।
यस्तो कसुर गर्ने व्यक्तिलाई तीनदेखि पाँच वर्षसम्म कैद र तीस हजार रूपैयाँदेखि पचास हजार रूपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था प्र्रस्तावित छ ।
यस्तै, कसैले प्रचलित कानुनमा तोकिएको ब्याजदरभन्दा बढी ब्याजदरमा ऋण लगानी वा असुल गरे कसुर मानिने पनि व्यवस्था गरिँदैछ । विधेयकअनुसार ऐन बने यस्तो गर्ने व्यक्तिलाई तीनदेखि पाँच वर्षसम्म कैद र तीस हजार रूपैयाँदेखि पचास हजार रूपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ ।
लेनदेन गर्दाकै बखत ब्याज रकम समेत सावाँमा जोडी लिखत गर्ने वा ब्याजलाई सावाँमा जोडी नयाँ लिखत गरे त्यो दण्डनीय हुने भनिएको छ । यस्तो कसूर गर्ने व्यक्तिलाई तीनदेखि पाँच वर्षसम्म कैद र तीस हजार रूपैयाँदेखि पचास हजार रूपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ ।
खाली कागजमा ल्याप्चे वा सही छाप गराउने गर्ने सम्बन्धी कसुर गर्नेलाई पनि सजाय हुने व्यवस्था प्रस्तावित छ ।
कसैले लेनदेन भएको भन्दा अगाडि वा पछाडिको मिति राखी लिखत तयार गर्ने वा खाली कागजमा ल्याप्चे वा सही छाप गराइ आफू अनुकुलको लिखत तयार गरे तीनदेखि पाँच वर्षसम्म कैद र तीस हजार रूपैयाँदेखि पचास हजार रूपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ ।
लेनदेन कारोबारमा नलेखिएको (खाली) वा लिएको रकमभन्दा बढी रकम उल्लेख गरी बाध्यकारी चेक काट्न लगाउनु नहुने पनि व्यवस्था राखिएको छ । यसो गगराउनेलाई तीनदेखि पाँच वर्षसम्म कैद र तीस हजार रूपैयाँदेखि पचास हजार रूपैयाँसम्म जरिवाना व दुवै सजाय हुने प्रस्ताव छ ।
यस्तै, लेनदेन कारोबारको लिखतको प्रति ऋणीलाई नदिने, ऋणीले तिरे बुझाएको रकमको भरपाई नदिने, लिखत नबनाउने वा भुक्तानीको प्रमाण लुकाउने कार्य गर्नु नहुने व्यवस्था प्रस्तावित छ । यसो गरे तीनदेखि पाँच वर्षसम्म कैद र तीस हजार रूपैयाँदेखि पचास हजार रूपैयाँसम्म जरिवाना हुनेछ।
भ्रष्टाचार, अपराधिक लाभ लगायतबाट आर्जित रकम क्यासिनो, ढुकुटी र ठेक्कापट्टा लगायतमा परिचालन सम्बन्धी कसुर गरे दण्डनीय हुने भनिएको छ ।
कसैले ऋण असुलीका क्रममा कुनै प्रकारको शारीरिक वा मानसिक हानि हुने गरी धम्की दिने वा हिंसा वा शोषण गर्नु वा गराउनु हुँदैन ।
यस्तो कसूर गर्ने व्यक्तिलाई तीनदेखि सात वर्षसम्म कैद र तीस हजार रूपैयाँदेखि सत्तरी हजार रूपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ ।






