विराटनगर, ११ मंसिर २०८३ । सप्तकोसी नदीमा गत कात्तिक ८ गते भएको यात्रुवाहक मोटरबोट दुर्घटनाको छानबिन गर्न कोसी प्रदेश सरकारले गठन गरेको समितिले शुक्रवार प्रतिवेदन सार्वजनिक गरेको छ ।
प्रदेश सचिव अस्मान तामाङको संयोजकत्वमा गठन गरिएको छानबिन तथा अध्ययन समितिले तयार पारेको प्रतिवेदनले प्राविधिक लापरबाही क्षमताभन्दा बढी यात्रु र सामान बोकेका कारण दुर्घटना भएको निष्कर्ष निकालेको छ ।
प्रतिवेदनमा दुर्घटनामा परी मानवीय क्षति भएकाले चालक र सञ्चालकमाथि मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत ज्यान सम्बन्धी कसुरमा फौजदारी कारबाही अघि बढाउन सुझाव दिएको छ ।
घटनाको अनुसन्धान जिल्ला प्रहरी कार्यालय धनकुटाबाट भइरहेकोले प्रतिवेदनले उक्त अनुसन्धानमा बाधा नगर्ने स्पष्ट पारेको छ । लापरबाहीपूर्वक बोट चलाएको पुष्टि भएमा चालक तथा सञ्चालकलाई ज्यान सम्बन्धी कसुरमा कडा कैद र जरिवाना हुने प्रतिवेदनमा भनिएको छ ।
प्रहरीले दुर्घटनामा परेको बोटका चालक सुमन मगरलाई हिरासतमा राखेर ज्यान सम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको छ । प्रतिवेदनका अनुसार दुर्घटनामा परेको बराह त्रिवेणी जल यातायात प्रा.लि.को मोटरबोटको भारवहन क्षमता ४५० देखि ६८० केजी मात्र रहेकोमा दुर्घटना हुँदा १५ जना यात्रु तथा सामानसमेत गरी क्षमता भन्दा बढी भार बोकेका कारण सन्तुलन बिग्रिन पुगेको थियो ।
त्यसका साथै नदीको बीचमा पुगेपछि बोटको इन्जिन अचानक बन्द भएका कारण बोटभित्र पानी जम्न पुग्दा दुर्घटना भएको समितिको ठहर छ । प्रतिवेदनले सुरक्षा मापदण्डको बेवास्ता गरिएको, बालबालिकाका लागि लाइफ ज्याकेटको प्रबन्ध नगरिएको आदि कारणले मानवीय क्षति हुनपुगेको उल्लेख छ ।
छानबिन समितिको प्रतिवेदनले सप्तकोसीमा सञ्चालन भइरहेका बोटहरू कानुनी अनुमतिबिनै चलिरहेको भन्दै कुनै पनि कम्पनीले जलयात्रा नियमावली, २०६३ र स्थानीय तहबाट सञ्चालन अनुमतिपत्र नलिएको उल्लेख छ । विद्यमान नियमावलीले पर्यटकको मनोरञ्जनका लागि मात्र जलयात्राको व्यवस्था गरेकाले सर्वसाधारण यात्रु ओसारपसार गर्न स्पष्ट कानुनी अभाव रहेको प्रतिवेदनले भनेको छ ।
सप्तकोसीमा सञ्चालित सबै बोटको तत्काल दर्ता, बिमा, चालकको योग्यता र यान्त्रिक परीक्षण गर्न तथा तीन महिनाभित्र अनुमतिपत्र नलिने बोटको सञ्चालनमा रोक लगाउन प्रदेश सरकारलाई सिफारिस गरिएको छ । साथै, संघीय सरकारसँग समन्वय गरी जलयात्रासम्बन्धी स्पष्ट छाता कानुन निर्माण गर्न र मृतक तथा बेपत्ता परिवारलाई तत्काल उचित राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन सुझाव दिएको छ ।
के थियो घटना ?
गत कात्तिक ८ गते दिउँसो करिब २ बजे भोजपुरको हतुवागढी गाउँपालिका–९ कोप्चेबाट सुनसरीको चतरातर्फ आउँदै गरेको ओबीएम बोट धनकुटा, भोजपुर र उदयपुरको संगमस्थल त्रिवेणीस्थित सप्तकोसी नदीमा डुबेर दुर्घटना भएको थियो ।
दुर्घटना लगत्तै अर्को बोटका चालक खगेस श्रेष्ठले ११ जना यात्रुको उद्धार गरेका थिए । तीमध्ये लिला राई, रत्नबहादुर नेपाली र बालिका आर्या राईको उपचारका क्रममा मृत्यु भएको थियो । घटनामा ७ वर्षे बालक सुयोग मगर, प्रमिला मगर र मनिका राई बेपत्ता छन् ।






