Online Bichar
बुधबार, मंसिर १०, २०८३ | Wednesday, November 25, 2026

काठमाडौं, ९ मंसिर २०८३ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) बाट सम्बन्धन लिएर सञ्चालनमा रहेका क्याम्पस तथा कलेजले अन्य स्वदेशी वा विदेशी विश्वविद्यालयका शैक्षिक कार्यक्रम सञ्चालन नगरेको स्वघोषणापत्र अनिवार्य रूपमा बुझाउनुपर्ने भएको छ ।

त्रिवि उपकुलपतिको कार्यालयले मंसिर ९ गते सूचना जारी गर्दै सम्बन्धन प्राप्त सबै क्याम्पस तथा कलेजलाई मंसिर १५ गतेभित्र आधिकारिक स्वघोषणापत्र पठाउन निर्देशन दिएको हो ।

त्रिवि कार्यकारी परिषद्को २०८३ कात्तिक २१ गतेको निर्णयअनुसार विश्वविद्यालयबाट सम्बन्धन प्राप्त क्याम्पस तथा कलेजमा नयाँ विषय वा शैक्षिक कार्यक्रम, सेक्सन र कोटा थप गर्ने प्रयोजनका लागि यस्तो व्यवस्था गरिएको सूचनामा उल्लेख छ ।

त्रिवि सम्बन्धनसम्बन्धी विनियम २०७३ ९संशोधनसहित० को परिच्छेद १३ मा त्रिभुवन विश्वविद्यालयबाहेक अन्य विश्वविद्यालय, परीक्षा बोर्ड वा परिषद्‌बाट सम्बन्धन लिएर शैक्षिक कार्यक्रम सञ्चालन गर्न नपाइने व्यवस्था छ । सोही व्यवस्थाको कार्यान्वयनका लागि विश्वविद्यालयले स्वघोषणापत्र माग गरेको हो ।

निर्देशनअनुसार सम्बन्धित क्याम्पस तथा कलेजले आफ्नो व्यवस्थापनअन्तर्गत एउटै परिसरमा त्रिविबाहेक अन्य कुनै स्वदेशी वा विदेशी विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी शैक्षिक कार्यक्रम सञ्चालन नगरेको व्यहोरा उल्लेख गरी आधिकारिक स्वघोषणापत्र तयार गर्नुपर्नेछ ।

उक्त स्वघोषणापत्र पीडीएफ फर्म्याटमा तयार गरी मंसिर १५ गतेभित्र त्रिविको इमेल ठेगानामा पठाउनुपर्नेछ ।

तपाईको प्रतिक्रिया