Online Bichar
मंगलबार, मंसिर ०९, २०८३ | Tuesday, November 24, 2026

काठमाडौं, ८ मंसिर २०८३ । ‘जेनजी’ आन्दोलनका बेला आगजनी र विध्वंसमा जोगिएको सम्पत्ति शुद्धीकरण मुद्दाको एउटा मिसिल सर्वोच्च अदालत प्रशासनबाट ‘गायब’ भएको छ ।

विशेष अदालतको फैसलाविरुद्ध सरकारले दुई वर्षअघि पुनरावेदन गरेको महत्त्वपूर्ण मिसिल गायब भएपछि महान्यायाधिवक्ता कार्यालयका अधिकारीहरू ‘आश्चर्य’मा परेका छन् । ०८२ भदौ २४ गते सर्वोच्च अदालत जलाइँदा पनि त्यो फाइल जोगिएको थियो ।

सम्पत्ति शुद्धीकरण अभियोगको मिसिल नभेटिएपछि महान्यायाधिवक्ता कार्यालयबाट ‘सर्च अभियान’ समेत थालिएको छ । उक्त मुद्दाको मिसिलको प्रति महान्यायाधिवक्ता कार्यालयमा समेत फेला परेको छैन ।

विशेष अदालतबाट सम्पत्ति शुद्धीकरण कसुरमा सफाइ पाएका क्यासिनो सञ्चालक सुरेन्द्रबहादुर सिंहविरुद्ध सर्वोच्चमा परेको पुनरावेदनको मिसिल गायब पारिएको हो ।

महान्यायाधिवक्ता कार्यालयबाट सम्पत्ति शुद्धीकरणका मिसिल खोजी गर्दा सर्वोच्चमा दर्ता भएको एकपन्ने कागजसम्म फेला परेको छ । उक्त एकपन्ने कागजबाट पत्र संख्या, चलानी नम्बर, मुद्दाको कोड नम्बर र मिति खुल्न आएको छ ।

उपन्यायाधिवक्ता वासुदेव शर्माद्वारा हस्ताक्षरित पत्र संख्या ०८१–८२–०७०२ र चलानी नम्बर ८०२ को पत्रसाथ पुनरावेदन दर्ता गर्न २०८१ पुस २३ गते सर्वोच्चमा पठाएको रेकर्डबाट देखिन्छ ।

तर, दुई वर्षदेखि मुद्दा पेसीमा चढेको रेकर्डबाट देखिँदैन । र, भदौ २४ को आगजनीमा जलेको भनी सर्वोच्चको अभिलेखमा जनाइएको पनि छैन ।

महान्यायाधिवक्ता कार्यालयको पत्रमा ‘गुज्रेको म्याद थामी पुनरावेदनपत्र दर्ता गरिदिनुहुन’ भन्दै अनुरोध गरिएको देखिन्छ । मिसिल जेनजी आन्दोलनको आगजनीपछि सुनियोजित रूपमै गायब पारिएको आशंका पैदा भएको छ । दुवै निकायबाट कहिले कसले गायब पार्‍यो भनी यति बेला खोजी भइरहेको छ ।

“प्रस्तुत विषयका सम्बन्धमा श्री शेखर खनाल समेतको प्रतिवेदनको जाहेरीले वादी नेपाल सरकार, प्रतिवादी सुरेन्द्रबहादुर सिंह समेत भएको सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) मुद्दामा विशेष अदालतबाट मिति २०८१–०१–१३ मा फैसला भई मिति २०८१–०८–०९ मा सूचना प्राप्त भएकोले,” सर्वोच्चमा पठाइएको पत्रमा लेखिएको छ, “गुज्रेको म्याद थामी पाउने निवेदनसाथ पाना–५ को पुनरावेदनपत्र तथा सूचनापत्रको नक्कल र विशेष अदालतको फैसलाको प्रतिलिपि यसैसाथ प्रस्तुत गरिएको छ । उक्त पुनरावेदनपत्र दर्ता गरिदिनुहुन ।”

क्यासिनो सञ्चालक सिंहसहितको सम्पत्ति शुद्धीकरण मुद्दाको मिसिल फेला नपरेपछि दुवै निकायका अधिकारी यति बेला तनावमा छन् । आगजनीबाट जोगिएको मुद्दाको मिसिल रहस्यमय तरिकाले हराएपछि सन्देह उत्पन्न भएको भन्दै महान्यायाधिवक्ताको कार्यालयले ‘सर्च अभियान’ थालेको हो ।

“विशेष अदालतबाट अभियोग दाबी नपुग्ने भन्दै प्रतिवादीले सफाइ पाएपछि सर्वोच्च अदालतमा पुनरावेदन दर्ता भएको पत्रबाट देखिन्छ,” महान्यायाधिवक्ता कार्यालय उच्च स्रोतले बाह्रखरीसँग भन्यो, “त्यो मुद्दामा दुई वर्षदेखि पेसी चढेको पनि देखिन्न । मिसिल खोज्दा सर्वोच्चमा पनि, यहाँ पनि फेला परेन । आश्चर्यपूर्ण घटना भएको छ । यस विषयमा विभागबाट सर्च अभियान नै चलाइएको छ । यसैमा दौडधुप छ ।”

कुनै सुनुवाइ र कानुनी प्रक्रिया अगाडि नबढेपछि महान्यायाधिवक्ता कार्यालयबाट मिसिलको खोजी भएको हो । सरकारवादी फौजदारी मुद्दाका कारण महान्यायाधिवक्ता कार्यालयका अधिकारीहरू बढी तनाव र दबाबमा परेका छन् ।

उच्च स्रोत अनुसार, मिसिल गायब भएको विषयमा पहिले एकपल्ट सर्वोच्च अदालतको मुद्दा व्यवस्थापन महाशाखा प्रमुख रहेका सहरजिस्ट्रार डा. अशोककुमार क्षेत्रीलाई डाकेर सोधपुछ गर्ने तयारी गरिएको छ ।

“मुद्दाको गाम्भीर्य, प्रमाणको अवस्था र राज्यलाई परेको क्षतिलाई हेरेर सर्वोच्च अदालतमा पुनरावेदन अगाडि बढाउन आवश्यक रहेको भन्ने निर्णय पनि देखिन्छ,” उच्च स्रोतले भन्यो, “तर, यहाँ (महान्यायाधिवक्ता कार्यालय) र सर्वोच्च अदालत दुवैतिर मिसिल छैन । रहस्यपूर्ण भएको छ ।”

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले ०७९ कात्तिक १५ गते सुरेन्द्रबहादुर सिंह र उनको परिवारका सदस्यमाथि विशेष अदालतमा सम्पत्ति शुद्धीकरणको अभियोगपत्र दायर गरेको थियो ।

विभागले २७ करोड ६७ लाख ७८ हजार ६५६ रुपैयाँ एक पैसाबराबरको सम्पत्ति शुद्धीकरण गरिएको दाबीसहित बिगो असुली, जरिवाना, कैद र सम्पत्ति जफतको मागदाबी गरेको थियो । अनुसन्धानपछि विभागले ०७९ कात्तिक १५ गते विशेष अदालतमा सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरेको थियो । विशेषले ०८१ वैशाख १३ गते सबै प्रतिवादीलाई सफाइ दिने फैसला गरेपछि सरकारले सर्वोच्चमा पुनरावेदन दिएको हो ।

स्रोतका अनुसार, त्यसमा सफाइमा सर्वोच्चबाट स्थापित पूर्वनजिर र मिसिल संलग्न तथ्यप्रमाण, मालपोत कार्यालयका कागज, बैंकिङ कारोबारजस्ता विषयको अनदेखा गरिएको, तथ्यगत मूल्यांकन नगरी गलत आधार लिइएको जिकिरसहित विशेषको फैसला उल्ट्याएर सजाय तोक्न माग गरिएको थियो ।

यसअघि पनि काठमाडौं जिल्ला अदालतमा तालाबन्दी गरिएकै अवस्थामा राखिएका सातथान मुद्दाका फाइल गायब पारिएको रहस्य बाहिरिएको थियो । फैसला भएर कारबाही चरणका मिसिलहरू चोरिएका थिए । जिल्ला अदालतको खोजबिन समितिले समेत मुद्दाका सातथान मिसिल हराएको निष्कर्षसहित प्रतिवेदन नै बुझाएको थियो ।

भदौ २४ को आगजनीपछि मुचुल्का उठाउँदा फेला परी बोरामा पोका पारेर राखिएका मिसिल हराएको निचोडमा समिति पुगेको थियो । अदालतमा आगजनीपछि नागरिक उड्डयन प्राधिकरण भवनमा सारिएका चेक अनादर, किर्ते जालसाजी, चेक फट्टा, निषेधाज्ञा, ठगीसहित सातथान मुद्दाका मिसिल प्रमाणहरू चोरिएका थिए ।बाह्रखरीबाट

तपाईको प्रतिक्रिया