काठमाडौं, ८ मंसिर २०८३ । लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध सर्वोच्चमा रिट दर्ता भएको छ ।
उनको नियुक्ति गैरकानुनी, विधि र प्रक्रियाविपरीत भएको दाबी गर्दै राष्ट्रिय जेनजी नागरिक अभियानले सर्वोच्चमा रिट दायर गरेको हो ।
नागरिकतासम्बन्धी विवाद तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा विचाराधीन रहेकै अवस्थामा गरिएको नियुक्तिको वैधानिकतामा प्रश्न उठाउँदै अभियानले रिट दर्ता गरेको हो ।
“अभियानले पटक–पटक सरकारको ध्यानाकर्षण गराउनुका साथै पटक–पटक खबरदारी गर्दै आएको थियो,” अभियान्ता अजय सोडारीले भने, “नियुक्तिको कानुनी वैधता परीक्षण तथा विधिको शासन र कानुनी प्रक्रियाको सुनिश्चितताका लागि सम्मानित सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका छौँ ।”
रिट निवेदन अभियानका संयोजक सुनिल सिंहसहित विरजन विश्वकर्मा र सफलता बोगटीका तर्फबाट दायर भएको उनले जानकारी दिए । रिटमा सर्वोच्चले बुधबारका लागि पेसी तोकिदिएको छ ।
रिटमा आनि छोइङ डोल्माको नियुक्ति सार्वजनिक पदाधिकारीको नियुक्ति र योग्यतासम्बन्धी मापदण्ड २०७१ बमोजिमको योग्यता नपुगेको दाबी गरिएको छ ।
मन्त्रिपरिषद्ले गत असोज ३० गते आनि छोइङ डोल्मालाई कोषको उपाध्यक्ष नियुक्त गरेको थियो । उनले मंसिर २ मा पदबहाली गरिसकेकी छन् ।






