काठमाडौं, ६ मंसिर २०८३ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) आइतबार (मंसिर ६) भारत प्रस्थान गरेका छन् । बालेन नेपाल एयरलाइन्सको नियमित उडानबाट दिउँसो भारत प्रस्थान गरेका हुन् । बालेन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा नयाँ दिल्ली गएका हुन् ।
प्रधानमन्त्रीको भ्रमण टोलीमा ३५ सदस्य रहेका छन् । प्रतिनिधिमण्डलमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेन्जनकारलगायत नेपाल सरकारका वरिष्ठ अधिकारी सहभागी छन् ।
प्रधानमन्त्री बालेनले भारतीय समकक्षी मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । भारतको विदेश मन्त्रालयले सार्वजनिक गरेको तालिका अनुसार, दुई प्रधानमन्त्रीबीच नयाँ दिल्लीको हैदरावाद हाउसमा भेटवार्ता हुनेछ ।
प्रधानमन्त्री शाहले आइतबार साँझ ६ बजे होटेल ताजमहलमा भारतीय विदेशमन्त्री डा। एस जयशंकरसँग भेटवार्ता गर्ने तालिका छ ।
सोमबार बिहान १० बजे राष्ट्रपति कार्यालयमा प्रधानमन्त्री शाहको औपचारिक स्वागत तथा भेटघाटको कार्यक्रम छ । त्यसपछि उनी श्रद्धाञ्जली अर्पण गर्न राजघाट पुग्नेछन् । राजघाटको कार्यक्रमपछि शाह र मोदीबीच भेटवार्ता हुनेछ ।
सोमबार मध्याह्न १२ बजेर २५ मिनेटमा सहमति तथा सम्झौता आदानप्रदान र संयुक्त पत्रकार सम्मेलनको कार्यक्रम तय गरिएको छ ।
भ्रमणका क्रममा दुई देशबीच सम्पर्क सञ्जाल विस्तार तथा ऊर्जा सहकार्यसम्बन्धी विभिन्न सम्पन्न परियोजनाहरूको उद्घाटन र नयाँ परियाजनाको शिलान्यास गर्ने कार्यक्रम रहेको छ ।
प्रधानमन्त्री शाहको भ्रमणका क्रममा दुवै देशका नेतृत्वबीच व्यापार, पारवहन, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल तथा पूर्वाधार विकास लगायतका क्षेत्रमा आर्थिक सहकार्य अभिवृद्धि गर्ने विषयमा छलफल हुनेछ ।
त्यस क्रममा सहकार्यका क्षेत्र शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, विपद् व्यवस्थापन, मानव संसाधन विकासजस्ता विषय समेटिएका विभिन्न समझदारीपत्रहरू (एमओयू) पनि आदानप्रदान गरिनेछन् । त्यसबाट दुवै देशका प्राथमिकता प्राप्त क्षेत्रमा आपसी सहकार्य अझ विस्तार हुनेछ ।
भ्रमणका क्रममा नेपाल–भारत बिजनेस फोरमको छलफल कार्यक्रम आयोजना हुनेछ ।
प्रधानमन्त्री शाहले सोमबार दिउँसो सवा ३ बजे राष्ट्रपति निवासमा भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग भेटवार्ता गर्नेछन् ।
त्यसपछि अपराह्न ४ः५० बजे उनी नयाँ दिल्लीबाट स्वदेश प्रस्थान गर्ने कार्यतालिका छ ।






