Online Bichar
मंगलबार, मंसिर ०२, २०८३ | Tuesday, November 17, 2026

झापा, १ मंसिर २०८३ । छठ पूजाको मौकामा झापाको दुई घरबाट लाखौको धनमाल चोरी भएको छ । हिजो बिहान भद्रपुर ५ गौतमबुद्ध टोल बस्ने मनोज गौतमको टिनको छानो भएको एक तले पक्की घरमा कोही नभएको अबस्थामा चोरी भएको हो । घरका सदस्यहरु ताल्चा लगाएर मेची नदीमा छठ पूजा हेर्न गएका थिए । चोरले कोठाको ताल्चा फुटाई दराजभित्र रहेको नगद रु १० लाख ,सुनको सिक्री १ थान १ तोलाको ,कानको बाली एक जोर आधा तोलाको ,नथिया २ थान चार आनाको गरी अन्दाजी १४ लाख बराबरको धनमाल चोरी भएको हो ।

पीडितले बिहान ९ः३० बजे वडा प्रहरी कार्यालय भद्रपुरमा घटनाबारे जानकारी गराएका थिए । वडा प्रहरी कार्यालय भद्रपुरबाट प्रहरी निरीक्षक मोतिलाल योन्जन तामाङको कमाण्डमा टोली खटिएर चोरी गर्ने ब्यक्तिको पहिचान तथा खोजतलास भइरहेको जनाइएको छ ।

त्यस्तै हिजो बिहानको राति बिर्तामोड-१० सैनिक बजार बस्ने राकेश साहको घरबाट नगद तथा गरगहना चोरी भएको छ । छठ पूजाबाट फर्किएर घरका सदस्यहरु माथिल्लो तलामा सुतेका थिए । त्यही मौकामा साहको दुईतले घरको भुइँतलामा रहेको पसल र पूजा कोठामा राखिएको नगद ६० हजार , १ तोलाको सुनको सिक्री, १०र१५ तोलाको चाँदीको गरगहना , २ हजारको एनसेलको रिचार्ज कार्ड र १ थान एन्ड्रोइड मोबाइल गरी अन्दाजी ४ लाख बराबरको सामान चोरी भएको हो ।

हिजो बिहान ४:३० बजे प्रहरी चौकी बिर्ताबजारमा जानकारी गराउनासाथ प्रहरी हवल्दार दिपक खड्काको कमाण्डमा प्रहरी टोली खटिएको थियो । चोरी गर्ने मानिसको पहिचान तथा खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया