Online Bichar
शनिबार, कार्तिक २९, २०८३ | Saturday, November 14, 2026

काठमाडौं, २७ कार्तिक २०८३ । निजामती कर्मचारीले अब आफू कार्यरत कार्यालयबाटै ई–पेन्सनसहितका सेवा पाउने भएका छन् ।

राष्ट्रिय निजामती किताबखानाले गरेको परिपत्रका आधारमा भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै मन्त्रालय र मातहतका कार्यालयलाई आ–आफ्नो कार्यालयबाटै सेवा दिने व्यवस्था मिलाउन परिपत्र गरेको हो ।

किताबखानाले यही कात्तिक १ गतेदेखि अनिवार्य ई–पेन्सन सेवा सञ्चालनको निर्णय गर्दै परिपत्र गरेको थियो । किताबखानाले यसअघि जिल्लास्थित कोष तथा लेखा नियन्त्रक कार्यालयबाट सेवा सञ्चालन गरेको थियो । अब भने हरेक कार्यालयबाट सञ्चालन गर्न सम्बन्धित कार्यालयको प्रशासन हेर्ने कर्मचारीको विवरण मागेको हो ।

“निवृत्तभरण सेवाका सन्दर्भमा हालसम्म उपत्यका बाहिरका कार्यालयहरूको हकमा जिल्लास्थित कोष तथा लेखा नियन्त्रक कार्यालयबाट हुँदै आएको ई–पेन्सनसम्बन्धी कार्य अब उप्रान्त सम्बन्धित कार्यालयबाटै सञ्चालन हुने भएकाले सोका लागि आवश्यक युजार क्रिडेन्सियल उपलब्ध गराउने प्रयोजनार्थ कार्यालयको प्रशासन हेर्ने सम्बन्धित कर्मचारीको कर्मचारी संकेत नम्बर, नाम, पद, इमेल आइडी र सम्पर्क नम्बर विभागको इमेल ठेगानामा पठाउने व्यवस्थाका लागि तपसिलबमोजिम परिपत्र गरिदिनुहुन साथै किताबखानामा दर्ता नभएका कार्यालय ९योजना र आयोजना०हरूको हकमा सम्बन्धित तालुक विभाग र मन्त्रालयबाटै ई–पेन्सन सेवा सञ्चालन गर्ने व्यवस्था मिलाइदिनुहुन समेत अनुरोध छ,” किताबखानाको परिपत्रमा भनिएको छ ।

मन्त्रालयले किताबखानाको परिपत्रसहित सबै मन्त्रालय र विभाग र कार्यालयहरूलाई पनि परिपत्र गरेको छ ।

तपाईको प्रतिक्रिया