काठमाडौं, २० कार्तिक २०८३ । भोटेकोशी–त्रिशूली बाढी विस्थापित निम्ति पुनस्र्थापना गर्ने गृहकार्य सुरु भएको छ । सरकारले पुनर्वास निम्ति जग्गा खोजी गर्न नापी विभागका महानिर्देशक प्रकाश जोशीको नेतृत्वमा समिति बनाएको थियो ।
उक्त समितिले भूमि व्यवस्था, सहकारी, तथा गरिबी निवारण र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावललाई प्रतिवेदन बुझाएको थियो । उक्त प्रतिवेदन कार्यान्वयन गर्न भूमि मन्त्रालयले पूर्वाधार मन्त्रालयलाई हस्तान्तरण गरेको छ ।
प्रतिवेदनमा पुनर्वासका लागि ४४ स्थानका तीन सय कित्ता जग्गामध्येबाट छनोट गर्ने गरी सिफारिस भएको छ ।
उक्त समितिले सरकारी, निजी, वन, विद्युत् प्राधिकरण, सरकारी कार्यालय, सिँचाइ कार्यालय र राष्ट्रिय निकुञ्जको गरी तीन हजार २७९ रोपनी जग्गा पुनर्वासका लागि सिफारिस गरेको हो ।
जसमा ७८७ रोपनी छ आना एक दाम सरकारी, ४६३ रोपनी पाँच आना दुई पैसा निजी, एक हजार ५५२ रोपनी १० आना तीन पैसा एक दाम वनको छ ।
त्यसरी ३१४ रोपनी १५ आना दुई पैसा एक दाम नेपाल विद्युत् प्राधिकरण, २५ रोपनी ९ आना १ पैसा १ दाम जग्गा सरकारी कार्यालय र सिँचाइको छ रोपनी पाँच आना १ दाम र निकुञ्जको ५८ रोपनी १२ आना जग्गा छ ।
समितिले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, वन ऐन, मालपोत ऐन, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन र राष्ट्रिय निकुञ्ज ऐन संशोधनका लागि पनि सिफारिस गरेको छ ।
ती कानुनका प्रावधान सच्याएपछि उपयुक्त स्थान छनोट गरी प्रक्रिया पुर्याएर बस्ती बसाल्न र व्यक्तिलाई हस्तान्तरण गर्न प्रतिवेदनको सिफारिस छ ।
सिफारिस जग्गामध्ये रसुवामा निकुञ्जको ५८ रोपनी १२ आनासहित ५९१ रोपनी नौ आना १ पैसा दुई दाम जग्गा छ । रसुवामा सरकारी, निजी, वन र निकुञ्जको जग्गा सिफारिस भएको हो ।
नुवाकोटमा सरकारी, निजी, वन, विद्युत् प्राधिकरण, सरकारी कार्यालय र सिँचाइको गरी कुल दुई हजार ६६५ रोपनी ६ आना एक पैसा एक दाम जग्गा सिफारिस भएको छ ।
धादिङमा २२ रोपनी तीन पैसा तीन दाम जग्गा सिफारिस भएको हो । धादिङमा सिफारिस भएको सबै जग्गा निजी हो ।
निजी जग्गामा अधिग्रहण गरी विस्थापितको पुनर्वासका लागि वितरण गर्नुपर्ने प्रतिवेदनको सिफारिस छ ।
उक्त प्रतिवेदन कार्यान्वयन गर्न पूर्वाधार मन्त्रालयले सहरी विकास तथा भवन निर्माण विभागका उपमहानिर्देशक प्रकाश अर्यालको नेतृत्वमा अर्को समिति बनाएको छ ।
विभागको पुनर्निर्माण, पुनस्र्थापना तथा सवलीकरण महाशाखाको नेतृत्वमा रहेका अर्याल नेतृत्वको समितिले जग्गा छनोटका लागि तीनवटा उपसमिति बनाएर रसुवा, नुवाकोट र धादिङमा खटाएको छ ।
“हामीले प्रतिवेदन पाएपछि सिफारिस भएका जग्गामध्ये खानेपानी, यातायात, विद्युत्सहितका पूर्वाधारका लागि उपयुक्त र बाढी, पहिरो र भूक्षयको जोखिम कम भएकामध्येबाट उपयुक्त जग्गा छनोट गर्न तीनवटा उपसमिति परिचालित गरिएको छ,” समिति संयोजक अर्यालले बाह्रखरीसँग भने, “ती उपसमितिको प्रतिवेदनपछि आवश्यक प्रक्रिया अघि बढ्नेछ ।”बाह्रखरीबाट






