Online Bichar
मंगलबार, मंसिर ०९, २०८३ | Tuesday, November 24, 2026

झापा, १९ कार्तिक २०८३ । झापामा सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । मेचीनगर र कमलमा एक–एक जनाको ज्यान गएको हो । सोमवार बिहान ११ः१५ बजे मेचीनगर –११ सृजनशील टोलमा प्रदेश १–०१–०१५ प ४४५९ नं. को मोटरसाइकल र प्रदेश १–०२–०४९ प २४८९ नं. को स्कुटी एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा स्कुटी चालक बुद्धशान्ति –३ बस्ने ६३ वर्षीय केदार खतिवडा गंभीर घाइते भएका थिए । उनलाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड ल्याइएको थियो । उपचारका क्रममा खतिवडाको मंगलवार दिउँसो ४ः३० बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

सो दुर्घटनामा मोटरसाइकल चालक मेचीनगर-१२ बस्ने बर्ष ५८ का बृहष्पति पाण्डे , मोटरसाइकलमा पछाडी सवार सोही ठाउँ बस्ने बर्ष ६३ को भवानी तिमल्सिना र स्कुटीमा पछाडी सवार बुद्धशान्ति-३ बस्ने बर्ष ६१ की सावित्रा खतिवडा घाइते भएका थिए । घाइतेहरुको बीएण्डसी अस्पतालमा उपचार भइरहेको छ ।

त्यस्तै कमलमा स्कूल बसको ठक्करबाट मोटरसाइकलमा सवार एकजनाको मृत्यु भएको छ ।
बुधवार साँझ ६:२० बजे कमल गाउँपालिका-३ शहीदगेटस्थित पूर्वपश्चिम राजमार्गमा झिलझिलेबाट केर्खातर्फ जाँदै गरेको दमक-९ स्थित सप्तश्री एकेडेमीको मे १ क ६३८नं.को स्कुल बसले बिपरीत दिशातर्फबाट आउँदै गरेको प्र.न.१–०१–०१८प.४८८३नं.को मोटरसाइकललाई ठक्कर दिएको थियो । सो मोटरसाइकल उछिट्टिएर दमकबाट बिर्तामोडतर्फ आउँदै गरेको प्र।न१–०१–००१ख३५५४नं।को ट्रकमा गई ठोक्किएको थियो ।

ट्रकको दाहिने साइडको चक्कामा परी दुर्घटना हुँदा मोटरसाइकल चालक इलाम नगरपालिका-८बस्ने बर्ष २७ का पन्चबहादुर लिम्बूको बायाँ हातको बुढी औँलामा चोट लागेको थियो भने सोही मोटरसाइकलमा पछाडी सवार सोही ठाउँ बस्ने बर्ष २१ की माङकुमारी लिम्बूको टाउकोमा चोट लागेको थियो । बोल्न नसक्ने गम्भीर अबस्थाकी माङकुमारीलाई तत्काल उपचारको लागि दमक अस्पताल दमकमा पठाएकोमा डाक्टरले चेकजाँच गर्दा मृत्यु भइसकेको थियो ।

घटनाबारे जानकारी प्राप्त भएपछि प्रहरी चौकी केर्खाबाट टोली खटिएर बस चालक दमक-९ बस्ने बर्ष ३५ का अतित लिम्बू, ट्रक चालक मेचीनगर-१४ बस्ने बर्ष ६०का गंगाबहादुर भुजेल र दुबै सवारी साधन नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय दमक पठाएको छ । घाइते मोटरसाइकल चालक लिम्बूलाई थप उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड रेफर गरिएको छ ।

 

तपाईको प्रतिक्रिया