सुर्खेत, १७ कार्तिक २०८३ । जिल्ला कारागार कार्यालय डोल्पाबाट सुरुङ खनेर कैदी फरार भएको घटनाको छानबिन गर्न कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) जयराज सापकोटा डोल्पा पुगेका छन् ।
उनीसँगै प्रहरीको हेडक्वाटरबाट आएको पाँच सदस्यीय टोली पनि डोल्पा पुगेको छ । शुक्रबार राति कारागार भवनको सेफ्टी ट्यांकीतर्फको भागबाट सुरुङ खनेर जबरजस्ती करणी र चोरी मुद्दामा कैद र पुर्पक्षका लागि थुनामा रहेका आठजना भागेका थिए ।
डीआईजीसहितको टोलीले कारागारको सुरक्षा व्यवस्थापन, कैदीबन्दी फरार हुनुअघिको अवस्था, सुरक्षाकर्मीको जिम्मेवारी र निगरानीमा भएको कमजोरीबारे स्थलगत अध्ययन गर्ने कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी सन्तोससिंह राठौरले बताए ।
भागेकामध्ये दुईजना रुकुम पश्चिमबाट पक्राउ परिसकेका छन् । पक्राउ पर्नेमा आठबिसकोट–१० का ३२ वर्षीय रामबहादुर विक र सल्यानको कुमाख गाउँपालिका–५ का २८ वर्षीय रेशम राना छन् । उनीहरू दुवैजना जबरजस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका कैदी भएका प्रहरीले जनाएको छ ।






