झापा, १६ कार्तिक २०८३ । अग्रपंक्तिमा बसेर काम गर्ने हैसियत राख्ने झापा र झापालीका बारेमा सँधै चर्चा चलिरहन्छ । दमकका इनम सापकोटाको घटनाले त झनै झापालीको प्रचार भएको छ । आम नेपालीको मुखबाट यतिबेला एउटै कुरा सुन्न सकिन्छ–जे गर्छन् झापालीले नै गर्छन् ।
आखिर देश नै हल्लाइदिने इनम को हुन् त ? २०५२ सालमा जन्मिएका इनम सापकोटा दमक नगरपालिका वडा नं ५९ साविकको वडा नं १०० बस्ने राम सापकोटाका एक्लो छोरा हुन् । हेल्थ असिस्टेन्ट रहेका राम सापकोटा नेपाल रेडक्रस र त्यसपछि दमक अस्पतालमा कार्यरत थिए । हाल राम सापकोटाको परिवार काठमाडौंको बुढानिलकण्ठमा बस्दै आएका छन् ।
सामान्य परिवारमा जन्मिएका इनमले दमक-५ स्थित मदरल्याण्ड बोर्डिङ स्कूलबाट एसइई उत्तीर्ण गरेका थिए । एसइई उत्तीर्णपछि उनले ललितपुरको हात्तीवनस्थित लिटल एन्जल्स स्कूलबाट साइन्समा प्लस टु उत्तीर्ण गरेका थिए । त्यसपछि उनी मेडिकल पढ्न भारतको दिल्ली गएका थिए । उनी दिल्लीमा एमबीबीएस पढ्न भएको बताइन्छ । तर, उनी दिल्लीमा एमबीबीएस नभई हरियानामा पारामेडिकल पढ्न गएको कुरा पनि आएको छ ।
देशकै खुंखार विचौलिया इनमका बारेमा सही जानकारी मिल्न गाह्रो छ । भारतमा पढ्ने क्रममा उनको संगत पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमसेर राणाका भाइ हिमालयन बैंकका संचालक प्रभुशमसेर राणाकी छोरीसंग भएको थियो । ती दुई क्लासमेट भएको बताइन्छ । गहिरो सम्बन्ध भएकी ती युवतीकै कारण पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमसेर राणासंग उनको सम्पर्क स्थापित भएको पुष्टि भएको छ । चोलेन्द्रशमसेर राणा जिल्ला न्यायाधीश हुँदाखेरि नै इनमसंग चिनजान भइसकेको थियो ।
चोलेन्द्रकी भतिजीसंग सम्बन्ध रहेपनि इनमले राप्रपाका नेता तथा निर्माण व्यवसायी विक्रम पाण्डेको परिवारकी कविता पाण्डेसंग विहे गरेका थिए । उनीहरुको विहे काठमाडौको रोयल प्यालेसमा भएको थियो । हाल इनमको एक सन्तान रहेको बताइन्छ ।
इनमको दमक-६ मा स्टेशनरी पसल रहेको थियो । पसलभित्र उनले ल्यापटप र कम्प्युटर राखेर विभिन्न काम गर्ने गर्थे । स्कूल पढ्दाखेरि नै उनले त्यही स्टेशनरी पसलबाट विचौलियाको काम थालिसकेका थिए । त्यही मामुली युवकले अहिले सिंगो देश हल्लाइदिएका छन् ।प्रतिदिनबाट






