सुर्खेत, १६ कार्तिक २०८३ । भारी हिमपातका कारण माथिल्लो डोल्पाको हिमाली क्षेत्रमा फसेका ६ भारतीय पर्यटकको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ ।
आवश्यक प्रशासनिक अनुमति नलिई जोखिमपूर्ण हिमाली मार्ग हुँदै डोल्पा पुगेका तीन महिला र तीन पुरुष पर्यटक १४ कात्तिकदेखि सम्पर्कविहीन भएका थिए ।
डोल्पोबुद्ध गाउँपालिकाको धो क्षेत्रबाट शे–फोक्सुण्डो गाउँपालिका–८ स्थित फोक्सुण्डो तालतर्फ फर्कने क्रममा उनीहरू नुमला र वाग्ला पास आसपासको क्षेत्रमा भारी हिमपातमा फसेका थिए । मौसम प्रतिकूल हुनुका साथै हिमपातको जोखिम बढेपछि उनीहरूलाई उद्धार गर्न हेलिकोप्टर परिचालन गरिएको हो ।
सोमबार बिहान त्यसतर्फ उडेको हेलिकोप्टरले सुरुमा दुई महिला पर्यटकको उद्धार गरी जिल्ला सदरमुकाम दुनै ल्याएको थियो । त्यसपछि बाँकी एक महिला र तीन पुरुष पर्यटकको उद्धारका लागि हेलिकोप्टर पुनः गएको थियो । दोस्रो उडानमार्फत उनीहरूको पनि उद्धार गरिएको हो ।
डोल्पाका प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालले सबै ६ जना भारतीय पर्यटकको उद्धार गरिएको जानकारी दिइन् । उनका अनुसार उद्धार गरिएका सबै पर्यटकको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
जिल्ला प्रशासन कार्यालय डोल्पामा १४ कात्तिकमै पर्यटक हिमपातका कारण हिमाली क्षेत्रमा फसेको सूचना प्राप्त भएको थियो । त्यसलगत्तै उनीहरूको उद्धारका लागि पहल थालिए पनि प्रतिकूल मौसम र हेलिकोप्टर व्यवस्थापनमा देखिएको समस्याका कारण उद्धार कार्यमा ढिलाइ भएको थियो ।






