Online Bichar
बुधबार, कार्तिक १२, २०८३ | Wednesday, October 28, 2026

विराटनगर, ११ कार्तिक २०८३ । विराटनगरमा ब्याट्री व्यवसाय गर्दै आएका ६९ वर्षीय लालजीप्रसाद गुप्ताको हत्या आरोपमा प्रहरीले एक जना हार्डवेयर व्यापारीसहित तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–६ स्वागत चोक घर भई महावीर चोकमा हार्डवेयरको गोदाम सञ्चालन गर्दै आएका ३६ वर्षीय अफ्रोज आलम छन् । हत्यापछि शव व्यवस्थापनमा आलमलाई सघाएको आरोपमा १३ वर्षीय भारतीय बालक र १६ वर्षीय नेपाली किशोर पनि पक्राउ परेका छन् । उनीहरूलाई प्रहरीले मंगलबार राति पक्राउ गरेको हो ।

विराटनगर–६ धरान रोडमा ‘लाल ब्याट्री एन्ड सन्स ट्रेडर्स’ सञ्चालन गर्दै आएका गुप्ता गत कात्तिक ६ गते शुक्रबार दिउँसो करिब ३ बजेदेखि बेपत्ता थिए । त्यसको दुई दिनपछि सुनसरीको बर्जु गाउँपालिका–२ भीमपुरस्थित केशलिया खोलाको किनारमा उनको शव बेवारिसे अवस्थामा फेला परेको थियो ।

शव फेला परेपछि जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले प्राविधिक र स्थलगत अनुसन्धानका आधारमा मंगलबार साँझ उनीहरूलाई पक्राउ गरि बुधबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

कसरी भयो घटना ?

प्रहरीका अनुसार विराटनगर–६ स्थित ‘माता इलेक्ट्रिक वर्क्स’बाट केही दिनअघि पानी तान्ने मोटरको तार हराएको थियो । त्यसपछि गुप्ताले आलमले चोरी गरेको हल्ला फैलाइदिएका थिए । सोही विषयलाई लिएर उनीहरूबीच विवाद बढेको थियो ।

चोरीको आरोप लगाएपछि आलमले गुप्तालाई छलफलका लागि भन्दै कात्तिक ६ गते दिउँसो आफ्नै घरमा बोलाएको प्रहरी अनुसन्धानले देखाएको छ । घर पुगेपछि आरोपको विषयमा विवाद हुँदा आलमले फलामको जीआई पाइपले गुप्ताको टाउकोमा प्रहार गरेको र गम्भीर घाइते भएपछि फेरि आक्रमण गर्दा गुप्ताको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) चन्द्र खड्का नभएको आरोप लगाएको भन्दै घरमै बोलाएर हत्या गरेको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको बताउँछन् ।

‘नभएको आरोप लगाए भनेर घरमै बोलाएर हत्या गरेको देखिन्छ । चोरी गरेको होरहोइन भन्ने खुलिसकेको छैन,’ डीएसपी खड्काले भने, ‘हत्यापछि मदर्सामा पढ्ने दुई बालकलाई शव व्यवस्थापन गर्न प्रयोग गरेको देखिन्छ ।’

उनका अनुसार हत्या आरोपी आलमको घर मदर्सा नजिकै छ । ‘मदर्साका बालकलाई के प्रलोभन देखाएर शव व्यवस्थापनमा प्रयोग गरे भन्ने खुलिसकेको छैन,’ डीएसपी खड्काले भने ।

गुप्ताको मृत्युपछि घटना लुकाउन आलमले ती मदर्साका बालकको सहयोग लिएर शव कार्पेटमा पोको पारेको प्रहरीले जनाएको छ । ‘त्यसपछि कसैले शंका नगरून् भनेर शवलाई सिटी सफारी मार्फत केशलिया खोलाको सुनसरीतर्फ किनारमा लगेर फालेको देखिन्छ,’ प्रहरी भन्छ ।

प्रहरीले अभियुक्तहरूको साथबाट हत्यामा प्रयोग गरिएको एक थान जीआई पाइप, मृतक गुप्ताले प्रयोग गर्ने रेडमी कम्पनीको मोबाइल फोन र शव ओसार्न प्रयोग गरिएको कार्पेट बरामद गरेको जनाएको छ ।

भारतको वाराणसी स्थायी घर भएका मृतक गुप्ता विगत ४० वर्षदेखि विराटनगरमै बसेर ब्याट्री व्यवसाय गर्दै आएका थिए । उनी पछिल्लो समय विराटनगर–११ अल्कामार्गमा डेरा गरी बस्दैआएका थिए ।अनलाइनखबरबाट

 

 

 

तपाईको प्रतिक्रिया