Online Bichar
बुधबार, कार्तिक १२, २०८३ | Wednesday, October 28, 2026

काठमाडौं, ११ कार्तिक २०८३ । रूपन्देहीको बुटवलस्थित गैरनाफामुखी संस्थाद्वारा सञ्चालित गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले श्रम तथा रोजगार कार्यालयको निर्देशनपछि कर्मचारीलाई चाडबाड खर्च उपलब्ध गराएको छ ।

अस्पतालमा कार्यरत श्रमिकहरूले चाडपर्व खर्च नपाएको भन्दै गुनासो गरेका थिए । गुनासोको आधारमा श्रम तथा रोजगार कार्यालय बुटवलले मिति असोज ३० मा अस्पताललाई पत्र पठाउँदै श्रमिकहरूको चाडपर्व खर्च भुक्तानी गर्न निर्देशन दिएपछि २४० जना कर्मचारीहरूलाई चाडपर्व खर्च उपलब्ध गराएको हो ।

उक्त पत्रमा श्रम ऐन, २०७४ को दफा ३७ बमोजिम प्रत्येक श्रमिकले खाइपाइ आएको एक महिनाको आधारभूत पारिश्रमिक बराबरको रकम चाडपर्व खर्च बापत पाउनुपर्ने प्रावधान स्मरण गराइएको थियो ।

साथै, एक वर्ष सेवा अवधि पूरा नभएका श्रमिकहरूको हकमा निजले गरेको सेवा अवधिको अनुपातमा चाडपर्व खर्च उपलब्ध गराउनुपर्ने कानुनी व्यवस्था रहेको पत्रमा उल्लेख थियो ।

अस्पतालले आफ्ना कर्मचारीहरूलाई यस वर्षको चाडपर्व (दसैँ) खर्च भुक्तानी गरेपछि सोको विवरण श्रम तथा रोजगार कार्यालय बुटवललाई पेस गरेको छ ।

तपाईको प्रतिक्रिया