काठमाडौँ, २९ असोज २०८३ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले देशभरका १०९ ठुला सामुदायिक विद्यालयको भौतिक पूर्वाधार विस्तार तथा सुदृढीकरणका लागि चालु आर्थिक वर्षमा ६ अर्ब ५४ करोड रुपैयाँ बजेट विनियोजन गरिएको बताएका छन्।
सामुदायिक विद्यालयप्रति बढ्दो आकर्षण र जनविश्वासलाई थप मजबुत बनाउन शिक्षा क्षेत्रको रूपान्तरणका लागि ऐतिहासिक कदम चालिएको मन्त्री पोखरेलले बताएका हुन्।
उनका अनुसार दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत र उत्कृष्ट नतिजा हासिल गरिरहेका १०९ सामुदायिक विद्यालयलाई प्राथमिकतामा राखेर पूर्वाधार विस्तारको योजना कार्यान्वयनमा ल्याइएको छ।
योजनाको पहिलो चरणमा ८९ विद्यालयका लागि ५ अर्ब ३४ करोड रुपैयाँ निकासा गरिएको छ। उक्त रकमबाट प्रतिविद्यालय करिब ६ करोड रुपैयाँको लागतमा अत्याधुनिक १२ कोठे तीनतले भवन निर्माण भइरहेको मन्त्री पोखरेलले जानकारी दिएका छन्।
निर्माण हुने भवनमा आधुनिक कक्षाकोठा, व्यवस्थित प्रयोगशाला र समृद्ध पुस्तकालयको व्यवस्था गरिनेछ। यसले विद्यार्थीको सिकाइ वातावरणलाई सुरक्षित, व्यवस्थित र प्रभावकारी बनाउने विश्वास मन्त्री पोखरेलले व्यक्त गरेका छन्।
उनले सामुदायिक विद्यालयप्रति विद्यार्थी र अभिभावकको आकर्षण बढ्नु सकारात्मक भए पनि केही विद्यालय विद्यार्थी अभावबाट गुज्रिरहेको अवस्थाप्रति सरकार सचेत रहेको बताएका छन्।
ठुला सामुदायिक विद्यालयबाट पूर्वाधार सुधारको काम सुरु गर्नुको उद्देश्य विद्यालयहरूबिच देखिएको असमानता घटाउनु रहेको उनको भनाइ छ।
आगामी दिनमा देशभरका सम्पूर्ण सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर र भौतिक पूर्वाधार समान रूपमा सुदृढ बनाउँदै विद्यालयहरूबिचको असमानता अन्त्य गर्ने प्रतिबद्धतासमेत मन्त्री पोखरेलले व्यक्त गरेका छन्।






