सुनसरी, २९ असोज २०८३ । सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मध्येहर्षाहीमा गोली प्रहार गरी एक युवकलाई घाइते बनाएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। गत असोज ३ गते बेलुका देवानगञ्ज गाउँपालिका–१ मध्येहर्षाहीको लक्ष्मीनारायण मन्दिर नजिक गोली प्रहार भएको थियो। घटनामा स्थानीय पल्टन भन्ने रामदेव यादवका २४ वर्षीय छोरा निरजकुमार यादव घाइते भएका थिए।
उक्त घटनामा संलग्न रहेको आरोपमा प्रहरीले देवानगञ्ज गाउँपालिका–२ का १८ वर्षीय विष्णुकुमार यादव, २६ वर्षीय जयकृष्ण यादव, करिब २७ वर्षीय कुन्दन यादव, २६ वर्षीय रणधिर यादव र २३ वर्षीय सुशील यादवलाई पक्राउ गरेको सुनसरीका प्रहरी प्रमुख एसपी पुष्पराज मल्लले बताए।
उनले अभियुक्तहरु नेपाल–भारत सीमा क्षेत्रमा लुकीछिपी बसेको अवस्थामा पक्राउ परेको बताए। पक्राउ परेका पाँचै जनालाई जिल्ला अदालत सुनसरीबाट म्यादथप गरि घटनाबारे थप अनुसन्धान अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी चन्द्र खडकाले जानकारी दिए।अन्नपूर्णपोष्टबाट






