Online Bichar
आइतबार, आश्विन २५, २०८३ | Sunday, October 11, 2026

काठमाडौं, २५ असोज २०८३ । ७० प्रतिशत नेपालीलाई आवाससम्बन्धी खर्च धान्न बारम्बार कठिन हुने गरेको एक नयाँ अध्ययनले देखाएको छ। त्यति नै अनुपातका नेपालीले अप्रत्याशित आर्थिक संकट वा अन्य समस्या आए आफू बसिरहेको घरमा बसिरहन कठिन हुने वा घरबारविहीन हुनुपर्ने अवस्था आउने चिन्ता व्यक्त गरेका छन्।

ह्याबिट्याट फर ह्युम्यानिटी इन्टरनेसनलले सार्वजनिक गरेको ‘होम एट ह्वाट कस्टरु’ नामक विश्वव्यापी अध्ययन प्रतिवेदनअनुसार, आवासको आर्थिक भारसँगै स्वास्थ्य उपचार, परिवारको भविष्य र जलवायुजन्य जोखिमले नेपालीको जनजीवन नराम्ररी प्रभावित भइरहेको देखाएको छ।

विश्वव्यापी रूपमा आवास खर्च धान्न कठिन हुने औसत ३४ प्रतिशत र अप्रत्याशित समस्याले आवास गुम्ने चिन्ता भएकाहरू ४८ प्रतिशत मात्र रहँदा नेपालको अवस्था भने निकै जटिल देखिएको छ।

स्वास्थ्य उपचारमा सम्झौता र मानसिक तनाव

आवासको बढ्दो आर्थिक दबाबले नागरिकहरूको स्वास्थ्य सेवामाथिको पहुँचलाई समेत प्रभावित बनाएको छ। उक्त सर्वेक्षणमा सहभागी २८ प्रतिशत उत्तरदाताले घरसँग सम्बन्धित आर्थिक दबाबका कारण स्वास्थ्य उपचार लिन ढिलाइ गरेको वा उपचार नै टारेको बताएका छन्। विश्वव्यापी रूपमा यस्तो बताउनेको औसत १३ प्रतिशत मात्र छ।

त्यसैगरी, ३६ प्रतिशतले घरको अत्यावश्यक मर्मतसम्भारको काम पछाडि धकेलेका छन् भने २१ प्रतिशतले खाद्यान्न सहायतामा भर पर्नुपरेको छ। विश्वव्यापी रूपमा खाद्यान्न सहायतामा भर पर्नेको दर ७ प्रतिशत मात्र छ।

सर्वेक्षणमा सहभागी ६८ प्रतिशत नेपालीले आवासको अवस्था नै आफ्नो जीवनको सबैभन्दा ठूलो मानसिक तनावको कारण भएको बताएका छन्। विश्वव्यापी औसत भने ३५ प्रतिशत मात्र छ। आवास खर्च धान्नकै लागि विगत १२ महिनामा ८८ प्रतिशत नेपालीले आफ्ना अन्य आवश्यकता र खर्चहरू कटौती गर्नुपरेको तथ्य प्रतिवेदनमा उल्लेख छ।

परिवार र बालबालिकाको भविष्यमा असर

महँगो आवास खर्चले परिवार सुरु गर्ने र बालबालिकालाई राम्रो अवसर उपलब्ध गराउने निर्णयमा समेत गम्भीर असर पारेको छ।

नेपालमा ७२ प्रतिशत उत्तरदाताले आवासको खर्चका कारण परिवार सुरु गर्नेबारे निर्णय लिन कठिन हुने बताएका छन्। विश्वव्यापी रूपमा यो दर ५६ प्रतिशत छ।

बालबालिका भएका उत्तरदातामध्ये ७३ प्रतिशतले घरको खर्चले आफ्ना बालबालिकालाई उपलब्ध गराउन सक्ने अवसर सीमित पार्ने चिन्ता व्यक्त गरेका छन्।

साथै, ७१ प्रतिशत नेपालीले आफू अहिले बसिरहेको घरमा निरन्तर बसिरहँदा आफ्ना कतिपय सपना र आकांक्षाहरू माया मार्नुपरेको गुनासो गरेका छन्।

चरम मौसम र असुरक्षित बसोबासको चिन्ता

आर्थिक भारसँगै चरम मौसम (बाढी, पहिरो आदि) र असुरक्षित बसोबासको चिन्ता पनि नेपालमा उच्च देखिएको छ। सर्वेक्षणमा सहभागी ७२ प्रतिशत नेपालीले चरम मौसमी घटनाका कारण आफू बस्ने ठाउँमा सुरक्षित महसुस गर्न कठिन हुने बताएका छन्। विश्वव्यापी रूपमा यस्तो महसुस गर्नेहरू ३० प्रतिशत मात्र छन्।

आगामी तीन वर्षभित्र चरम मौसमका कारण आफू अहिले बसिरहेको ठाउँमा बस्न झन् कठिन हुने अनुमान गर्ने नेपालीको अनुपात ७० प्रतिशत छ, जुन अध्ययन गरिएका २२ देशहरूमध्येकै उच्च हो।

सन् २०१५ र २०२३ को विनाशकारी भूकम्पको अनुभव सँगालेका ७६ प्रतिशत नेपालीले कमजोर घरको अवस्थाका कारण आफूलाई असुरक्षित महसुस गर्ने गरेका छन् । यसको विश्वव्यापी औसत ४४ प्रतिशत मात्रै छ।

अध्ययनका अनुसार, ७३ प्रतिशतले असुरक्षित ढोका, झ्याल वा पर्खालका कारण डर लाग्ने बताएका छन्। ७१ प्रतिशतले कुनै असुरक्षित घटना भइहालेमा सम्बन्धित निकाय वा अधिकारीहरूबाट छिटो उद्धार वा प्रतिक्रिया नआउने चिन्ता व्यक्त गरेका छन् भने ७१ प्रतिशतलाई नै आगामी वर्षहरूमा आफ्नो थातथलो छोड्न बाध्य हुनुपर्ने डर छ।

नीतिगत अभाव र सुकुम्बासी समस्या

प्रतिवेदनले नेपालमा १२ लाखभन्दा बढी मानिससँग सुरक्षित जग्गा वा आवास नभएको र करिब १३ लाख परिवार अनौपचारिक जग्गा वा आवास व्यवस्थामा (सुकुम्बासी वा अव्यवस्थित बसोबासीका रूपमा) बसिरहेको तथ्यसमेत उल्लेख गरेको छ।

सर्वेक्षणमा सहभागी ७२ प्रतिशत नेपालीले देशको आवास प्रणाली बिग्रिएको वा काम नगर्ने अवस्थामा रहेको बताएका छन्। त्यसैगरी ७८ प्रतिशतले खरिद गर्न सकिने किफायती घरहरूको अभाव रहेको र ७४ प्रतिशतले पहिलोपटक घर किन्नेहरूलाई सरकारको नीतिले पर्याप्त सहयोग नगरेको औंल्याएका छन्।

के हो ह्याबिट्याट फर ह्युम्यानिटी रु

ह्याबिट्याट फर ह्युम्यानिटी इन्टरनेसनलले एडेलम्यान इन्टेलिजेन्समार्फत सन् २०२६ अप्रिल १० देखि जुन ३० सम्म यो विश्वव्यापी सर्वेक्षण गराएको थियो। विश्वका २२ देशका कुल ३० हजार ७५८ जना यसमा सहभागी थिए।

नेपालको हकमा १,००० जना वयस्कलाई समेटेर राष्ट्रिय नमुना (अनलाइन), ३०० जना न्यून आय भएका र १०० जना अनौपचारिक बसोबासमा रहेका व्यक्तिहरूसँग प्रत्यक्ष अन्तर्वार्ता गरी कुल १,४०० जनामा यो सर्वेक्षण गरिएको थियो। (साची मुल्मी)

तपाईको प्रतिक्रिया