जनकपुरधाम, २५ असोज २०८३ । जनकपुरमा छुरा प्रहार गरेर हत्यामा संलग्न आरोपीसँग जोडिएको आरोपमा एक जना सशस्त्र प्रहरी जवान पनि अनुसन्धानमा तानिएका छन् । हत्या आरोपी इर्साद खानसँग हिंसा प्रोत्साहन गर्ने तथा अभद्र टिकटक बनाएको आरोपमा सशस्त्र प्रहरी जवान ऋषि मण्डल अनुसन्धानमा तानिएका हुन् ।
जनकपुरधाममा बिहीबार साँझ इर्सादले छुरा प्रहार गर्दा जनकपुरधाम उपमहानगरपालिका– ५ का २४ वर्षीय आमिन साफीको मृत्यु भएको थियो । अर्का युवक २५ वर्षीय इम्तियाज राइन गम्भीर घाइते छन् ।
घटनामा संलग्न इर्सादलाई स्थानीय स्तरमा ‘गुण्डा’ भनेर पनि चिनिने प्रहरी अनुसन्धानले भेट्टाएको छ । उनीसँग सशस्त्र प्रहरी जवान मण्डलले केही महिना अघि रिल्स तथा टिकटक बनाएका थिए ।
भिडियोमा इर्सादले खल्तीबाट खुकुरी निकालेर प्रदर्शन गर्दै अभद्र गाली गर्दै हिंसा गर्ने चेतावनी दिइरहेका सुनिन्छन् । जसमा सशस्त्र प्रहरी जवान मण्डल त्यसलाई प्रोटेक्सन गरेको देखिन्छन् ।
इर्सादले अर्को समुदायलाई लक्षित गरी हिंसा तथा सद्भाव बिगार्ने कयौं भिडियो रिल्स तथा टिकटक बनाएको प्रहरी अनुसन्धानमा खुलेको छ ।
घटनापश्चात इर्साद पहिलेका सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । यसमा सशस्त्र प्रहरी जवान मण्डल रहेको भिडियोसमेत भाइरल भएपछि उनकालाई पनि कारबाहीको माग उठेको छ ।
त्यसपछि मण्डलमाथि अनुसन्धान भइरहेको सशस्त्र प्रहरीका मधेश प्रदेश प्रमुख डीआईजी विष्णु भट्टले जानकारी दिए । मण्डलमाथि अनुसन्धानको विषयमा नेपाल प्रहरीसँगसमेत समन्वय भइरहेको उनको भनाइ छ ।
‘जनकपुरमा छुरा प्रहार घटना भएपछि जवान ऋषि मण्डलको पनि भिडियो भाइरल भइरहेको छ । त्यो भिडियोमा प्रहरीको आचरणविपरीत व्यवहार भएको देखिन्छ,’ डीआईजी भट्टले भने, ‘यसपछि पर्साबाट तानेर गणमा उनीमाथि सोधपुछ तथा अनुसन्धान भइरहेको छ ।’






