काठमाडौँ, २४ असोज २०८३ । त्रिभुवन विश्वविद्यालय पाठ्यक्रम विकास केन्द्रले विगत पाँच दशकदेखि प्रदान गर्दै आएको विदेशी शैक्षिक उपाधि तथा समकक्षता निर्धारण सम्बन्धी सेवा पूर्ण रूपमा बन्द गरेको छ।
केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०८२ ले विश्वविद्यालय अनुदान आयोग ऐन, २०५० मा नयाँ कानुनी व्यवस्था गरेपछि केन्द्रले असोज २३ गतेदेखि उक्त कार्य बन्द गरेको हो।
नयाँ कानुनी प्रावधानअनुसार मिति २०८३ साउन १ गतेदेखि नै विदेशी विश्वविद्यालय वा सो सरहका शैक्षिक संस्थाबाट प्राप्त उपाधिको समकक्षता निर्धारण गर्ने अधिकार विश्वविद्यालय अनुदान आयोगमा सरेको थियो। सोही अनुसार पाठ्यक्रम विकास केन्द्रले साउन १ गतेदेखि नयाँ निवेदन लिन छाडेको थियो भने असार मसान्तसम्म दर्ता भएका आवेदनहरूमा निर्णय गरी अभिलेख हस्तान्तरणको प्रक्रिया अघि बढाएको छ।
ऐनले तोकेको अवधिभित्र विगतमा प्रदान गरिएका समकक्षता र सम्बन्धित संस्थाको अभिलेख अनुदान आयोगमा बुझाउनुपर्ने व्यवस्था रहेकाले असोज २३ देखि सम्पूर्ण कार्य रोकिएको केन्द्रले जनाएको छ।
यसैबिच असार मसान्तसम्म नियमानुसार दर्ता भई समकक्षता वा मान्यता प्रदान गर्ने निर्णय भइसकेका तर प्रमाणपत्र लिन बाँकी रहेका आवेदकहरूले बडादसैँको बिदापछि पाठ्यक्रम विकास केन्द्रबाटै आफ्नो प्रमाणपत्र बुझ्न सक्नेछन्।






