काठमाडौं, २४ असोज २०८३ । दिल्लीमा सात हजार भन्दा बढी प्रदर्शनकारी गिरफ्तार भएका छन् । निर्वाचन आयोगका प्रमुख ज्ञानेश कुमारको राजीनामा माग गर्दै ककरोच जनता पार्टीसहित विपक्षी दलले भारतमा शनिबार प्रदर्शन गरेका छन् । प्रदर्शनमा सहभागी भएको भन्दै राजनीतिज्ञदेखि कलाकारसम्म गिरफ्तारीमा परेका छन् । समाचार संस्था पीटीआईले सात हजार भन्दा बढी प्रदर्शनकारी गिरफ्तार भएको जनाएको हो ।
प्रहरीले चार पूर्वमुख्यमन्त्रीलाई गिरफ्तार गरेको छ । पूर्वमुख्यमन्त्री पिनरयी विजयान, ममता बनर्जी, अरविन्द केजरिवाल र मनिक सरकारलाई प्रहरीले गिरफ्तार गरेको हो । कलाकार इरफान खान पनि गिरफ्तारीमा परेका छन् ।
भारतीय कंग्रेसले आइतबार प्रदर्शन चर्काउन अपिल जारी गरेको छ । नेता केसी भेनु गोपालले लोकतन्त्रको रक्षाका लागि आन्दोलन आवश्यक रहेको बताउँदै आन्दोलनमा सहभागिता जनाउन सबै पक्षलाई आग्रह गरेका हुन् ।
यसअघि ककरोच जनता पार्टीको आन्दोलनपछि केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानले राजीनामा दिनुपरेको थियो । यसपटक निर्वाचन आयोगका प्रमुखको राजीनामालाई प्रदर्शनकारीले बटमलाइन बनाएका छन् ।
मतदाता नामावलीमा १३ करोड बढीको नाम हटाएको आरोप निर्वाचन आयोगलाई लागेको छ । भारतको सर्वोच्च अदालतले उक्त नामावली पुनरावलोकनको आदेश दिएपछि निर्वाचन आयोगले उक्त काम अघि बढाएको छ । आन्दोलनकारीहरूले भने प्रमुख निर्वाचन आयुक्तको राजीनामा हुनैपर्ने अडान राखेका छन् ।






