Online Bichar
बुधबार, आश्विन २१, २०८३ | Wednesday, October 7, 2026

काठमाडौँ, २१ असोज २०८३ । देशका विभिन्न ३२ जिल्लामा नेपाली सेनाका विभिन्न निकाय, युनिट तथा सब–युनिटहरूमा प्रशोधित दुध तथा दुग्धजन्य पदार्थको दैनिक तथा नियमित आपूर्तिका लागि बुधबार सम्झौता भएको छ।

सम्झौताअनुसार नेपाली सेनाका सम्बन्धित निकाय तथा युनिटहरूमा दैनिक १० हजार २५१ लिटर प्रशोधित दूध आपूर्ति गरिनेछ। यसैगरी दैनिक ३६५ किलोग्राम दही, ३७ किलोग्राम पनिर, २१ किलोग्राम होल मिल्क पाउडर तथा १५ किलोग्राम चिज नियमित रूपमा आपूर्ति गरिनेछ।

वार्षिक रूपमा करिब ३७ लाख ४१ हजार ५०६ लिटर प्रशोधित दूध, १ लाख ३३ हजार ५२२ किलोग्राम दही, १३ हजार २४० किलोग्राम पनिर, ७ हजार ४४१ किलोग्राम होल मिल्क पाउडर र ५ हजार २७८ किलोग्राम चिज आपूर्ति हुने सम्झौतामा उल्लेख छ।

दूध तथा दुग्धजन्य पदार्थको नियमित, गुणस्तरीय र व्यवस्थित आपूर्तिका लागि गरिएको उक्त सम्झौताले नेपाली सेनाका विभिन्न निकाय तथा युनिटहरूमा आवश्यक दुग्धजन्य पदार्थको सहज उपलब्धता सुनिश्चित गर्ने अपेक्षा गरिएको छ।

सम्झौता पत्र हस्ताक्षर कार्यक्रममा नेपाली सेनाका सम्बन्धित अधिकारी तथा आपूर्तिकर्ता पक्षका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। सम्झौताअनुसार तोकिएको मापदण्ड र परिमाणमा दुग्धजन्य पदार्थको नियमित आपूर्ति गरिनेछ।

तपाईको प्रतिक्रिया