काठमाडौँ, २१ असोज २०८३ । प्लेगले इतिहासमा लाखौँ मानिसको ज्यान लिएको थियो । जसलाई ‘ब्ल्याक डेथ’ महामारी भनेर समेत चिनिएको थियो । यो रोग इतिहासमा मात्र सीमित छैन । प्लेग गराउने जीवाणु यर्सिनिया पेस्टिस अझै पनि विश्वका विभिन्न भागमा जनावरहरूमा पाइन्छ । मानिसमा पनि बेलाबेला संक्रमण देखिने गरेको छ । यसको सबैभन्दा गम्भीर रूपमध्ये एक निमोनिक प्लेग हो, जसले फोक्सोमा संक्रमण गराउँछ र समयमै उपचार नपाए ज्यानै लिन सक्छ ।
प्लेगका मुख्य तीन प्रकारका छन् । ब्युबोनिक, सेप्टिसेमिक र न्युमोनिक । ब्युबोनिक प्लेग सबैभन्दा सामान्य हो । यसले शरीरका ग्रन्थिहरू सुन्निन्छ । सेप्टिसेमिक प्लेगमा जीवाणु रगतमा फैलिन्छ । न्युमोनिक प्लेगमा संक्रमणले फोक्सोलाई असर गर्छ । यही रूप मानिसबाट मानिसमा सर्न सक्ने भएकाले सार्वजनिक स्वास्थ्यका दृष्टिले सबैभन्दा बढी चिन्ताको विषय हो।
पछिल्लो समय प्लेगको संक्रमण र यससँग सम्बन्धित घटनाबारे चासो बढिरहेका बेला यसको प्रकृति, सर्ने तरिका र जोखिमबारे बुझ्नु आवश्यक छ । विशेषगरी निमोनिक प्लेग अन्य प्रकारको प्लेगभन्दा बढी घातक मानिन्छ ।
के हो निमोनिक प्लेग ?
प्लेग यर्सिनिया पेस्टिस नामक जीवाणुका कारण हुने संक्रामक रोग हो । यसका मुख्य तीन प्रकार छन् ब्युबोनिक, सेप्टिसेमिक र निमोनिक प्लेग । ब्युबोनिक प्लेगले मुख्यतः लिम्फ नोड्स अर्थात् शरीरका ग्रन्थिहरूलाई असर गर्छ । सेप्टिसेमिक प्लेगले रगतमा संक्रमण गराउँछ भने निमोनिक प्लेगले फोक्सोमा गम्भीर संक्रमण गराउँछ । ब्युबोनिक वा सेप्टिसेमिक प्लेगको संक्रमण फोक्सोसम्म फैलिएर पनि निमोनिक प्लेग हुन सक्छ । तर, संक्रमित जीवाणु सासमार्फत फोक्सोमा प्रवेश गर्दा पनि यसको संक्रमण हुन सक्छ ।
निमोनिक प्लेगका प्रमुख लक्षणमा ज्वरो आउनु, टाउको दुख्नु, कमजोरी महसुस हुनु, सास फेर्न गाह्रो हुनु, छाती दुख्नु र खोक्दा खकारमा रगत देखिनु पर्छन् । यसको लक्षण संक्रमण भएको केही समयमै देखिन सक्छ । विश्व स्वास्थ्य संगठनका अनुसार, संक्रमणपछि लक्षण देखिने अवधि छोटो हुन सक्छ र कतिपय अवस्थामा २४ घण्टामै लक्षण देखिन सक्छ ।
कसरी फैलिन्छ ?
प्लेग सामान्यतया संक्रमित साना स्तनधारी जनावर र तिनमा पाइने संक्रमित उपियाँको सम्पर्कबाट मानिसमा सर्छ । संक्रमित उपियाँले टोकेमा वा संक्रमित जनावरको सम्पर्कमा आउँदा संक्रमण हुन सक्छ । निमोनिक प्लेग भने संक्रमित व्यक्तिबाट अर्को व्यक्तिमा पनि सर्न सक्छ । संक्रमित व्यक्तिले खोक्दा वा श्वासप्रश्वास गर्दा निस्कने संक्रमित थोपा नजिकै रहेको अर्को व्यक्तिले श्वासमार्फत भित्र लिएमा संक्रमण हुन सक्छ । यसका लागि सामान्यतया नजिकको सम्पर्क आवश्यक पर्छ ।
निमोनिक प्लेगको संक्रमण रोक्न संक्रमित व्यक्तिको शीघ्र पहिचान, उपयुक्त उपचार, स्वास्थ्यकर्मीका लागि संक्रमण नियन्त्रणका उपाय र नजिकको सम्पर्कमा आएका व्यक्तिको निगरानी महत्त्वपूर्ण हुन्छ ।
उपचार सम्भव छ ?
निमोनिक प्लेग गम्भीर भए पनि समयमै पहिचान गरेर उपयुक्त एन्टिबायोटिक उपचार सुरु गरेमा निको हुन सक्छ । उपचारमा ढिलाइ हुँदा भने यो तीव्र रूपमा गम्भीर बन्न सक्छ र मृत्युको जोखिम अत्यधिक बढ्छ । त्यसैले प्लेगको सम्भावित सम्पर्कपछि ज्वरो, खोकी, छाती दुख्ने वा सास फेर्न गाह्रो हुनेजस्ता लक्षण देखिए तत्काल स्वास्थ्य संस्थामा जानुपर्छ । विशेषगरी संक्रमित व्यक्तिसँग नजिकको सम्पर्क भएको वा प्लेग देखिएको क्षेत्रमा यात्रा गरेको इतिहास भए चिकित्सकलाई जानकारी दिनुपर्छ ।
संक्रमित व्यक्तिको सम्पर्कमा आएका व्यक्तिलाई जोखिमको मूल्यांकन गरी चिकित्सकको सल्लाहमा रोकथामका लागि एन्टिबायोटिक दिन सकिन्छ । आवश्यकताअनुसार उनीहरूको निगरानी र संक्रमण नियन्त्रणका उपाय पनि अपनाइन्छन् ।
के विश्वमा अझै प्लेग कायमै छ ?
प्लेगलाई विगतको महामारीसँग मात्र जोडेर हेर्न मिल्दैन । यसको जीवाणु विश्वका विभिन्न भागमा जनावरहरूको प्राकृतिक समूहमा अझै कायम छ । अफ्रिका, एसिया र अमेरिकाका केही क्षेत्रमा मानिसमा संक्रमणका घटना देखिने गरेका छन् । मध्य अफ्रिकाका केही क्षेत्र प्लेगका लागि विशेष जोखिमयुक्त मानिन्छन् ।
१४औँ शताब्दीमा युरोपमा फैलिएको ‘ब्ल्याक डेथ’ महामारीले ठूलो संख्यामा मानिसको ज्यान लिएको थियो । त्यसबेला फैलिएको प्लेगको प्रमुख रूप ब्युबोनिक प्लेग थियो, जुन संक्रमित उपियाँ र जनावरसँग सम्बन्धित संक्रमणबाट फैलिएको थियो । त्यसैले उक्त महामारीलाई निमोनिक प्लेगकै कारण भएको भन्नु सही हुँदैन । अहिले पनि प्लेगको निगरानी, प्रयोगशालामा रोग पहिचान, प्रभावकारी उपचार र एन्टिबायोटिक प्रतिरोधको अध्ययनलाई सार्वजनिक स्वास्थ्यको महत्त्वपूर्ण हिस्सा मानिन्छ ।
नेपालमा यसको जोखिम कस्तो छ ?
रुसमा प्लेग फैलिएको भए पनि नेपालमा संक्रमण फैलिएको छैन । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा क्लिनिकल रिसर्च युनिटका संयोजक शेरबहादुर पुनका अनुसार प्लेगलाई नेपालमा पनि बेवास्ता गर्न भने हुँदैन। “नेपालमा हालसालै पुष्टि भएको छैन । मानिसले खोक्दा हाछ्यु गर्दा सर्ने भएकोले मात्र नेपालमा पनि अलर्ट भएको हो । त्यसमा आत्तिनु पर्दैन । बेवास्ता चाहिँ गर्न हुँदैन । श्वासप्रश्वासबाट सर्ने भएकाले संसारका सबै मुलुकहरू अलर्टमा बसेका छन् । हामीहरू पनि बस्दा राम्रो हुन्छ,ुु उनले भने ।
साथै, उनले ४० वर्षअघि नेपालमा प्लेग देखिएकोले त्यसलाई नजरअन्दाज भने गर्न नमिल्ने बताए । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सार्वजनिक सूचना जारी गर्दै नागरिकलाई सावधानी अपनाउन आग्रह समेत गरेको छ । यद्यपि, हालसम्मका अन्तर्राष्ट्रिय सूचनाअनुसार रूसबाहिर प्लेग फैलिने जोखिम अत्यन्त न्यून रहेकाले अनावश्यक त्रासमा नपर्न महाशाखाले स्पष्ट पारेको छ । सम्भावित जोखिमलाई मध्यनजर गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हेल्थ डेस्कलाई उच्च सतर्कतामा राखिएको छ भने प्लेग परीक्षणका लागि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा आवश्यक व्यवस्था मिलाइएको छ ।
सम्भावित बिरामीको पहिचान, परीक्षण तथा उपचारका लागि स्वास्थ्य संस्थालाई पनि तयारी अवस्थामा राखिएको महाशाखाले जनाएको छ । नागरिकलाई सामाजिक सञ्जालमा फैलिने अपुष्ट सूचना र हल्लाको पछि नलागी स्वास्थ्य मन्त्रालय तथा सम्बन्धित सरकारी निकायबाट जारी हुने आधिकारिक सूचनालाई मात्र आधार मान्न आग्रह गरिएको छ । निमोनिक प्लेग गम्भीर र उपचारमा ढिलाइ गर्न नहुने रोग हो ।






