काठमाडौं, २१ असोज २०८३ । सरकारले पोर्चुगललाई काठमाडौंमा महाबाणिज्य दूतावास खोल्ने अनुमति दिएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोर्चुगललाई स्वीकृति दिएको सरकारका प्रवक्ता सस्मित पोखरेलले बताए ।
पोर्चुगलले काठमाडौंमा महावाणिज्य दूतावास अनुमति माग्दै परराष्ट्र मन्त्रालयमा पत्र पठाएको थियो । यसअघि काठमाडौंमा काउन्सिलर कार्यालय खोल्न नेपाल सरकारसँग सहमति मागेको थियो । २०८३ साउन २६ गते बसेको मन्त्रिपरिषद् बैठकले पोर्चुगललाई काठमाडौंमा काउन्सिलर कार्यालय खोल्न सहमति दिने निर्णय गरेको थियो ।
त्यसपछि पोर्चुगलले ‘काउन्सिलर कार्यालय’ भन्दा पनि माथिल्लो तहको महावाणिज्य दूतावास खोल्न अनुमति मागेको थियो । परराष्ट्रमन्त्री शिशिर खनाल राष्ट्रसंघको ८१ औँ महासभामा सहभागी हुन न्युयोर्क पुगेका बेला पोर्चगुलका विदेशमन्त्री पाउलो रान्जेलले यस विषयमा खनालको ध्यानाकर्षण गराएका थिए ।
पछिल्लो समय अध्ययन र वैदेशिक रोजगारीमा जाने नेपालीहरूको लागि पोर्चुगल आकर्षक गन्तव्य बन्दै आएको छ। पोर्चुगलमा ७० हजारभन्दा बढी नेपालीहरू रहेको अनुमान छ । नेपालमा पोर्चुगलको दूतावास नहुँदा त्यहाँ जान चाहनेले भिसाको लागि भारतको नयाँ दिल्लीस्थित पोर्चुगलको दूतावास धाउनु पर्ने बाध्यता रहँदै आएको छ । पोर्चुगलले काठमाडौंमा महावाणिज्य दूतावास खोलेपछि अब यो झन्झटबाट नेपालीहरू मुक्त हुनेछन् ।






