झापा, २१ असोज २०८३ । झापाबाट १२ जना नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिमा मनोनित भएका छन् । झापा क्षेत्र नं २ , ३ र ५ बाट चार–चार जनाको दरले मनोनित भएका हुन् । झापा १ र ४ बाट कोही पनि मनोनित भएका छैनन् ।
झापा क्षेत्र नं २ बाट कांग्रेसको १५ औ महाधिवेशनमा चारजना महाधिवेशन प्रतिनिधि मनोनित भएका छन् । केन्द्रीय सभापति गगन थापाले केन्द्रीय सदस्य सुधिरकुमार शिवाकोटीसहित चारजनालाई मनोनित गरेका हुन् । मनोनित हुने अन्यहरुमा राजेश खड्का , खेमराज खड्का र किरण गुरुङ रहेका छन् ।
यस्तै क्षेत्र नं ३ बाट चारजना महाधिवेशन प्रतिनिधिमा मनोनित भएका छन् । भूमिप्रसाद राजवंशी , रामप्रसाद दुलाल,शिला तामाङ र ग्यास अजमल मियाँ मनोनितमा परेका हुन् ।
१५औँ महाधिवेशनमा विभिन्न पदमा पराजित भएका नेताहरू विभिन्न कोटाबाट महाधिवेशन प्रतिनिधिमा मनोनित भएका हुन्। झापा–३ बाट क्षेत्रीय सभापतिमा पराजित रामप्रसाद दुलाल र समानुपातिकतर्फ आदिवासी जनजाति कोटाबाट महाधिवेशन प्रतिनिधिमा पराजित शिला तामाङलाई महाधिवेशन प्रतिनिधिमा मनोनयन गरिएको हो । यस्तै, ग्यास अजमल मियाँलाई मनोनयनमा समेटिएको छ। कचनकवल गाउँपालिका ३ का वडाध्यक्षसमेत रहेका मिया क्षेत्रीय अधिवेशनमा भाग नलिई महाधिवेशन प्रतिनिधिमा मनोनयन भएका हुन् ।
महाधिवेशन प्रतिनिधिका लागि उम्मेदवारी नै नदिएका भूमिप्रसाद राजवंशीसमेत कोटामा परेका छन्। राजवंशी यसअघि पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलानिकट समूहमा सक्रिय थिए। तर, १५औँ महाधिवेशनको तयारी चलिरहेका बेला उनले सामाजिक सञ्जालमार्फत आफू सिटौला समूहबाट अलग भएको घोषणा गर्दै थापा नेतृत्वको समूहमा आबद्ध भएको सार्वजनिक गरेका थिए।राजवंशी कोशी प्रदेशका सांसद तथा पूर्व राज्यमन्त्रीसमेत हुन्।
त्यस्तै झापा क्षेत्र नं ५ बाट नौताली राजवंशी , विश्वदीप लिङ्देन , सुजित मुर्मु र कृष्णबहादुर धिमाल महाधिवेशन प्रतिनिधि मनोनित भएका छन् । यसअघि क्षेत्रीय अधिवेशनमा महाधिवेशन प्रतिनिधि उठेका नौताली राजवंशी र विश्वदीप लिङ्देन निर्वाचनमा पराजित भएका थिए ।






