Online Bichar
सोमबार, आश्विन १९, २०८३ | Monday, October 5, 2026

झापा, १९ असोज २०८३ । नेपालमा हतियार भित्र्याउन खोज्ने एकजना भारतीय पक्राउ परेका छन् । काँकडभिट्टा नाका हुँदै नेपालमा हतियार भित्र्याउन खोज्ने भारतीय नागरिक सीमावर्ती पानीट्यांकीस्थित नयाँ मेची पुलमा पक्राउ परेका हुन्। हिजो दिउँसो ४ः१० बजे नियमित जाँचका क्रममा एसएसबीको ४१ औं बटालियन अन्तर्गत ‘डी’ कम्पनी पानीट्यांकीको बीआईटी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको एसके २ ए४८०० नम्बरको सवारी साधनलाई चेकजाँच गरेको थियो ।

त्यस क्रममा गाडीमा सवार सिक्किमका बासिन्दा ताशी पाल्की भुटियाको झोलाबाट ०.३२ क्यालिबरको एक थान पेस्तोल, दुई वटा म्यागजिन, ७.६५ एमएमका ४९ थान गोली तथा एक थान खोका बरामद भएको थियो ।

प्रारम्भिक सोधपुछका क्रममा भुटियाले आफू गुरुजीलाई लिन काँकडभिट्टा आउँदै गरेको बताएका छन्। तर, उनले पेश गरेको हतियार इजाजतपत्रअनुसार उक्त पेस्तोल सिक्किम र पश्चिम बंगालभित्र मात्र प्रयोग गर्न पाइने उल्लेख रहेकाले अन्यत्र लैजान नपाइने देखिएको प्रहरीले जनाएको छ।

बरामद हतियारसहित उनलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि खोरीबारी प्रहरी थानामा बुझाइएको छ।

 

तपाईको प्रतिक्रिया