काठमाडौं, १९ असोज २०८३ । गृहमन्त्री सुधन गुरुङ असोज २६ गते भारत जाने भएका छन् । उनी बहु–क्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको पहल (बिम्स्टेक) को गृहमन्त्री स्तरीय बैठकमा सहभागी हुन भारतको नयाँ दिल्ली जान लागेका हुन् । “गृहमन्त्रीज्यू बिमस्टेक बैठकमा सहभागी हुन भारत जाँदै हुनुहुन्छ,” गृह मन्त्रालय स्रोतले भन्यो । गुरुङ मन्त्री भएपछि यो उनको पहिलो विदेश भ्रमण हुनेछ ।
बिमस्टेकको गृहमन्त्री स्तरीय बैठक असोज २७ गते नयाँ दिल्लीमा हुँदैछ । बैठकमा बिमस्टेक सदस्य राष्ट्रहरू नेपाल, भारत, भुटान, बंगलादेश, श्रीलंका, म्यानमार र थाइल्याण्डका गृहमन्त्रीहरू सहभागी हुनेछन् ।
बैठकको मुख्य एजेन्डा आतंकवाद तथा अन्तरदेशीय अपराध नियन्त्रण रहेको छ । बिम्स्टेक गृहमन्त्री स्तरीय बैठक पहिलो पटक बस्न लागेको हो । गृहमन्त्री गुरुङ असोज २८ गते काठमाडौं फर्किन कार्यक्रम छ । “फर्किनुअघि भारतका गृहमन्त्रीसँग द्विपक्षीय बैठक गर्ने सम्बन्धमा तयारी भइरहेको छ,” गृह मन्त्रालय स्रोतले भन्यो ।






