बिर्तामोड, १० असोज २०८३ । प्रतिबन्धित नेटवर्किङ व्यवसाय सञ्चालन गरी सर्वसाधारणबाट रकम असुल्दै आएको आरोप लागेका एनके प्युरिफाई कम्पनीमा आबद्ध दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
सर्वसाधारणलाई ठगी गरेको आरोपमा एनके प्युरिफाई कम्पनीका संचालकहरु माधवप्रसाद घिमिरे र मिलन अधिकारीलाई बिहीवार इलाका प्रहरी कार्यालय बिर्तामोडले पक्राउ गरेको हो । उनीहरुमाथि ठगी मुद्धामा हिजो अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको डीएसपी सन्तोष पाठकले बताए ।
स्रोतले दिएको जानकारीअनुसार उक्त समूहको मुख्य नाइके इलामका राजन चाम्लिङलाई हुन् । चाम्लिङले केही समयअघि उक्त योजना नै मोटो रकममा बिक्री गरेर इलाम गएको र त्यहाँसमेत यस्तै गतिविधि सुरु गरेको स्रोतको दाबी छ ।
एनके प्युरिफाईले ९ हजार ९ सय ९९ जना सर्वसाधारणबाट प्रतिव्यक्ति ३५ हजार ५२० रुपैयाँका दरले रकम असुलेका थिए । उक्त हिसाबअनुसार सर्वसाधारणबाट ३२ करोड ५१ लाख ६७ हजार ४८० रुपैयाँ संकलन भएको देखिन्छ । एनकेले महँगो उपहारहरुमा धाधली गरेको ठहर भएको छ । उसले वितरण गरेको वाटर प्युरिफाई मेशिन पनि कमसल खालको रहेको ग्राहकहरुले बताएका छन् ।
बिर्तामोडकै साँची ग्रुपका संचालक सन्जिव प्रधान, रमेश उप्रेती, रमेश अधिकारीले समेत यस्तै प्रतिबन्धित चिट्ठा उडाएर सर्वसाधारण ठग्ने गरेको पाइएको छ । उनीहरुले वास्तविक सदस्य संख्याभन्दा बढी सदस्य रहेको देखाउने, नक्कली सदस्य खडा गरेर पुरस्कार विजेता बनाउने र त्यस्तो पुरस्कार रकम कम्पनीमै राख्ने गरेको प्रमाणसमेत फेला परेको छ।






