इलाम, ७ असोज २०८३ । ट्रकमा फल्स बटम बनाई त्रिपालले छोपेर लुकाएर ल्याएको अवस्थामा १५ क्वीन्टल बढी गाँजा बरामद भएको छ ।
हिजो साँझ ६ः३५ बजे इलाम नगरपालिका-९ भञ्ज्याङस्थित मेची राजमार्गमा प्रहरी चौकी गोलाखर्कबाट प्रहरी सहायक निरीक्षक उत्तम भुजेलको कमाण्डमा खटिएको चेकिङ टोलीले राजदुवाली सडकको अवस्थाका कारण ठूला सवारी साधनलाई केचना कञ्चनजङ्घा सडकखण्डतर्फ डाइभर्सन गर्ने क्रममा ना.४ ख ८९९६ नम्बरको फुलबडी ट्रक जबर्जस्ती राजदुवालीतर्फ अगाडि बढेको अवस्थामा प्रहरीले ट्रक रोकी सम्झाउने क्रममा चालक ट्रक स्टार्ट अवस्थामै छाडेर फरार भएका थिए ।
जिल्ला प्रहरी कार्यालय इलामबाट प्रहरी निरीक्षक देवीदत्त मोतेको कमाण्डमा प्रहरी टोली खटिएर शंका लागेर चेकजाँच गर्दा सो ट्रकको फल्स बटम बनाई त्रिपालले छोपेको अवस्थामा बोरामा गाँजा लुकाई राखेको फेला परेको थियो।
उक्त ट्रकलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय, इलाममा ल्याई तौल गर्दा ४१ बोरामा १,५०४ के. जी. ६१० ग्राम गाँजा बरामद भएको छ। फरार चालकको खोजतलास तथा घटनासम्बन्धी थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिएका छन् ।






