बिर्तामोड, २५ भदौ २०८३ । अरुको बैंक खाता भाडामा लिएर ठगी धन्दा गर्ने गिरोहका तीनजना महिला बिर्तामोडमा पक्राउ परेका छन् । खाता खोल्ने रकम दिएर अरुलाई बैंक खाता खोल्न लगाउने र खाता खोलिसकेकाहरुसंग भाडामा लिएर अनलाइन सट्टेवाजी , सामाजिक सञ्जाल ह्याक गरी रकम ठगी गर्ने गिरोहका तीनजना महिला पक्राउ परेका हुन् । हिजो दिउँसो २:३० बजे बिर्तामोड वडा न।२ रामचौकबाट इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी सहायक निरीक्षक छत्रकुमारी श्रेष्ठको कमाण्डको ५ जनाको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा खोटाङ मझुवागढी गाउँपालिका वडा न.९ बस्ने बर्ष ३१ की सम्झना राई,सुनसरी इनरुवा नगरपालिका वडा न.३ बस्ने बर्ष ३५ की दिपिका थापा र भारत दिल्ली घर भएकी बर्ष २८ की हर्पित कौर रहेका छन् । उनीहरुको साथबाट १ लाख १८ हजार ८७० रुपैयाँ बरामद भएको छ । उनीहरुलाई ठगी सम्बन्धी आवश्यक अनुसन्धानको लागि नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको बिर्तामोड प्रहरीले जनाएको छ ।
अनलाइन सट्टेवाजी गरी ठगी गर्नेहरुले अरुकै बैक खाता दुरुपयोग गर्ने गरेका छन् । करिव तीन महिनाअघि अनलाइन सट्टाबाजीको आरोपमा बिर्तामोडबाट पक्राउ परेका बिर्तामोड नगरपालिका–६ का ३६ वर्षीय भुवन मेचे र मेचीनगर नगरपालिका–१० का २७ वर्षीय विपिन गिरीले पनि धेरैजनाको बैक खाता प्रयोग गरेको पाइएको थियो ।
सामान्य लोभमा परेर आफ्नो बैक खाता अरुलाई दिँदा फसाएको घटना धेरै रहेकाले त्यसप्रति सजग रहन जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक बसुन्धरा खड्काले आग्रह गरेकी छन् ।






