झापा, २२ भदौ २०८३ । झापामा जापानिज इन्सेफ्लाइटिस (जेई) अर्थात् मस्तिष्क ज्वरोको संक्रमण र मृत्युदर बढेपछि करिब पाँच लाख नागरिकलाई जेईविरुद्धको खोप लगाउने तयारी गरिएको छ । स्वास्थ्य कार्यालय झापाका अनुसार जिल्लामा जेई संक्रमित १२ जनामध्ये चार महिला र दुई पुरुष गरी ६ जनाको मृत्यु भएपछि उच्च सतर्कता अपनाउँदै आगामी असोज ५ गतेदेखि खोप अभियान सञ्चालन गर्न लागिएको हो ।
त्यसका लागि आवश्यक खोपको भण्डारण तथा व्यवस्थापनको काम अघि बढाइएको स्वास्थ्य कार्यालयले जनाएको छ । खोप अभियानअन्तर्गत १५ वटै पालिकाका ३० वर्षमाथिका करिब ४ लाख ९३ हजार ३१९ जना नागरिकलाई खोप लगाउने लक्ष्य राखिएको स्वास्थ्य कार्यालय झापाका प्रमुख ब्रिजकुमार दासले जानकारी दिएका छन् ।
जिल्लामै सबै बढी संक्रमित मेचीनगर नगरपालिकामा देखिएकोले र त्यही नगरपालिकाबाट सुरू गरिने खोप अभियान १५ दिन अर्थात् असोज १९ गतेसम्म सञ्चालन हुनेछ । एउटा स्थानीय तहमा बढीमा सात दिन खोप सेवा सञ्चालन हुने र यसले मानिसको स्वास्थ्यमा खासै असर नपार्ने स्वास्थ्य प्रमुख दासले बताए ।
जेई खोप लगाउन प्रत्येक वडाहरू खोप केन्द्रहरू स्थापना गर्नुका साथै महिला स्वास्थ्य स्वयंसेविका र खोपकर्मी खटाइनेछ । २०६४ साल अर्थात् २० अघि जिल्लामा १५ वर्षसम्मका बालबालिकालाई जेई खोप अभियान सञ्चालन गरिएको बताउँदै उनले भने,’अहिले २० वर्षपछि ३० वर्ष माथि उमेर समूहलाई यो खोप लगाइन्छ । बालबालिकाहरूले नियमित खोपमार्फत जेई लगाइरहेकोले उनीहरूलाई पर्दैन ।’
सामान्यतया जेईबाट बालबालिका बढी प्रभावित हुने भएपनि पछिल्लो समय ५० वर्षभन्दा माथिका दीर्घरोगीमा संक्रमण तथा मृत्युदर बढी देखिएको छ । भदौ २१ गतेसम्मको तथ्यांक अनुसार ९५ वटा अतिशीघ्र इन्सेफ्लाइटिस सिन्ड्रोम केसमध्ये १२ जनामा जेई संक्रमण पुष्टि भएको थियो । मेचीनगरमा ६ जना संक्रमित भेटिएकोमा दुई जनाको मृत्यु भइसकेको छ । त्यसपछि बिर्तामोडमा दुईजना सङ्क्रमितमध्ये एकजनाको मृत्यु भएको उनले बताए ।
बाह्रदशी,अर्जुनधारा र हल्दीबारीमा पनि एकरएक जना सङ्क्रमितको मृत्यु भइसकेकोले ती पालिकाहरूमा पनि उच्च सतर्कता अपनाइएको छ । कोशी प्रदेशका १४ जिल्लामध्ये सबैभन्दा बढी झापा जिल्ला जोखिममा देखिएको छ ।
जिल्लामा सन् २०२४ मा दुईजना,२०२५ मा तीनजना र २०२६ मा ६ जना गरी ११ जनाको जेई सङ्क्रमणबाट मृत्यु भइसकेको स्वास्थ्य कार्यालयले जनाएको छ । जेई संक्रमित लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने गर्छ । धान खेत,फोहोर तथा हिलोमा पाइने लामखुट्टेले सुँगुर,हाँस,कुखुरा तथा बकुल्लाजस्ता पशुपन्छीबाट भाइरस लिएर मानिसमा सार्ने स्वास्थ्यकर्मीहरू बताउँछन् ।
संक्रमणको जोखिम न्यूनीकरणका लागि लामखुट्टेको टोकाइबाट बच्न,घर वरिपरि सरसफाइ राख्न तथा स्वास्थ्य कार्यालयले सञ्चालन गर्ने यस खोप अभियानमा सहभागी हुन जिल्लावासीलाई झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले आग्रह गरेका छन् ।अन्नपूर्णपोष्टबाट






