Online Bichar
बिहिबार, भाद्र १८, २०८३ | Thursday, September 3, 2026

काठमाडौं, १८ भदौ २०८३ । रसुवाको भोटेकोसी नदीमा बाढी आएको बिहीबार (भदौ १८) नौ दिन भएको छ । यो अवधिमा बाढी प्रभावित क्षेत्रमा रहेका जलविद्युत् आयोजनाका टनेल (सुरुङ) भित्रको खोज तथा उद्धार कार्यमा सोचेजस्तो सफलता हात पार्न सकिएको छैन ।

वर्षा, भौगोलिक अप्ठेरो, प्रविधिको अभाव लगायतका कारणले टनेलभित्रको खोज तथा उद्धार कार्य सोचेझै अघि बढ्न नसकेको हो ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, अहिले विभिन्न जलविद्युत् आयोजनामा कार्यरत ९०० जना सम्पर्कविहीन छन् । सम्पर्कविहीन धेरैजसो टनेलभित्र रहेको अनुमान गरिएको छ ।

नेपाली सेनाका अनुसार, हाल चारवटा विद्युत् आयोजनाका टनेलभित्र उद्धार कार्य चलिरहेको छ ।

लाङटाङ हाइड्रोमा विदेशीसहित २५ जनाको संयुक्त खोज तथा उद्धार टोलीले टनेलभित्र करिब १५० मिटरसम्म प्रवेश गरी दुई स्थानमा सानो–सानो होल बनाई खोजी कार्य गरिरहेको नेपाली सेनाले जनाएको छ ।

चिलिमे हाइड्रोमा विदेशीसहितको संयुक्त टोलीले खोज तथा उद्धारको कार्य गरिरहेको छ ।

“त्रिशूली–३ए मा ९३ जनाको संयुक्त उद्धार टोलीले पाँचवटा स्काभेटरको प्रयोग गरी रातभर टनेलको आउटलेटमा भरिएको लेदो र माटो हटाउने क्रममा रातको करिब २ बजे आउटलेटको होललाई ठूलो बनाउन क्राउनलाई ब्लाष्टिङ गरी सफा गर्ने कार्य भइरहेको,” सेनाले बिहीबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

यस्तै, त्रिशूली–३बी मा नेपाली सेनाको ८९, गैरसैनिक तीन र आयोजनाका प्रबन्ध निर्देशकसहितको संयुक्त उद्धार टोलीले आयोजनाको कार्यालय र निवास पहिचान गरी उक्त इलाकासम्म पुग्न एक्साभेटरबाट बाटो बनाउन बबक्याटको प्रयोग गरी खन्ने तथा माटो पन्छाउने कार्य भइरहेको छ ।

तपाईको प्रतिक्रिया