कुमरखोद, ५ भदौ २०८३ । झापा गाउँपालिकास्थित हुलाकी राजमार्गअन्तर्गत सानो कन्काई नदीमा करिब ३ करोड रुपैयाँको लागतमा बेलीब्रिज बन्ने भएको छ।
गत असोज १९ गते आएको बाढीका कारण पक्की पुलको बीच भागको पाइलिङ भासिएपछि ठूला सवारीसाधनको आवतजावत रोकिएको छ । अहिले उक्त पुलबाट दुई पाङ्ग्रे सवारीसाधन र हल्का चारपाङ्ग्रे गाडीहरू मात्र आवतजावत गरिरहेका छन्।
भासिएको पुलमा अहिले मुद्दा परेका कारण मर्मत तथा पुनर्निर्माणमा ढिलाइ हुने भएपछि तत्काल आवागमन सहज बनाउन बेलीब्रिज निर्माण गर्न लागिएको हो।
कोशी प्रदेश सांसद लखीकुमारी गणेशका अनुसार बेलीब्रिज निर्माणको ठेक्का केही दिनभित्रै लाग्ने छ । बेलीब्रिज बनेपछि हुलाकी राजमार्गमा ठूला सवारीसाधनको आवतजावतसमेत सहज हुने अपेक्षा गरिएको छ।






