झापा, २ भदौ २०८३ । झापामा सवारी दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ । गत साउन ९ गते हल्दिवारीमा मोटरसाइकलको ठक्करबाट घाइते भएका पैदलयात्रीको मृत्यु भएको हो । साउन ९ गते राति ८ः१५ बजे हल्दिबारी –२ सूर्य होली चोकमा पूर्वदेखि पश्चिमतर्फ जाँदै गरेको मे. ३ प २८० नं. को मोटरसाइकलले पैदलयात्री हल्दिबारी-२ बस्ने वर्ष ५८ का कृष्णप्रसाद भट्टराईलाई ठक्कर दिएको थियो ।
घाइतेलाई ओम साई पाथीभरा अस्पताल भद्रपुर लगि उपचार भइरहेकोमा साउन ३० गते राति ८ः५० बजे अवस्था गम्भीर भएपछि घरमा ल्याई राखिएको थियो । साउन ३१ गते बिहान ८ः५० बजे आफ्नै घरमा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
त्यस्तै कचनकवल गाउँपालिका –१ चिया बगानमा जोत्दै गर्दा ट्रयाक्टर पल्टिदा एक बालकको मृत्यु भएको छ । आइतवार प्र. १–०१–००१ त ८९९२ नं को ट्रयाक्टरले भद्रपुर बस्ने मोहन अग्रवालको खेत जोतिरहेको थियो ।
सो खेत भारत बिहार किशनगंज जिल्ला जोरबारी जियापोखेर–७ बस्ने बाबुलाल मर्डीले कमाउँदै आएका थिए । भारत बिहार किशनगंज जिल्ला गिलाबारी बस्ने ट्रयाक्टर चालक अजय भट्टियाले जोत्ने क्रममा ट्रयाक्टर अचानक पल्टिएको थियो ।
ट्रयाक्टरमा सवार भारत बिहार राज्य किशनगंज जिल्ला जोरबारी जियापोखेर-७ बस्ने ८ वर्षीय सिमोन सोरेन घाइते भएका थिए । उनलाई आफन्तले उपचारको लागि भारततर्फ लाँदै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।






