काठमाडौं, २ भदौ २०८३ । आफूलाई पक्राउ गर्न रोक्न मागसहित पत्रकार किशोर श्रेष्ठले उच्च अदालत पाटनमा रिट निवेदन दायर गरेका छन् । पक्राउ रोक्न अन्तरिम आदेशको माग गर्दै मंगलबार (भदौ २) श्रेष्ठ अदालत पुगेका हुन् ।
सोमबार (भदौ १) सर्वोच्च अदालतले पत्रकार श्रेष्ठलाई रिहा गर्न परमादेश दिएको थियो । त्यसपछि उपसभामुख रुबीकुमारी ठाकुरले उनीविरुद्ध जिल्ला प्रहरी परिसर ललितपुरमा जाहेरी दिएकी थिइन् । जाहेरीअनुरूप प्रहरीको अनुसन्धानका क्रममा आफैँ हाजिर हुने व्यहोरा खुलाएर उनले रिट दायर गरेका हुन् ।
उनले आफ्नी श्रीमती सरस्वती श्रेष्ठले दिएको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सर्वोच्चबाट रिहाइका निम्ति भएको परमादेशको जनाउ पनि उच्च अदालतलाई दिएका छन् । जिल्ला अदालतबाट पक्राउ पुर्जीको अनुमति लिन सक्ने आशंका गर्दै रोक्न रिटमा माग गरिएको छ ।
प्रहरीले यसअघि श्रेष्ठलाई साउन २७ गते पक्राउ गरेको थियो । त्यति बेला पनि जनआस्था पत्रिकामा छापिएको समाचारका विषयमा एक जाहेरीका आधारमा श्रेष्ठलाई पक्राउ गरिएको थियो ।






