Online Bichar
सोमबार, भाद्र ०१, २०८३ | Monday, August 17, 2026

झापा, १ भदौ २०८३ । झापामा सर्पले डसेर चार महिनामा चारजनाको मृत्यु भएको छ । बैशाख महिनायता सर्पले टोकेर एक बालकसहित चारजनाको मृत्यु भएको हो ।

गत साता मात्र सर्पले डसेर झापामा एक युवक र एक युवतीको मृत्यु भएको थियो । साउन २८ गते राति सर्पले टोकेर अर्जुनधारा–८, रानागाउँ निवासी २० वर्षीय बिनोद लिम्बूको मृत्यु भएको हो ।

राति १२ बजे आफ्‌नै घरमा भुइँमा सुतेका लिम्बूलाई विषालु सर्पले टोकेको थियो । घाइते लिम्बूलाई उपचारको लागि सर्पदंश उपचार केन्द्र चारआली लगिएको थियो । त्यहाँ उपचार संभव नभएपछि बिर्तामोडको बीएण्डसी अस्पताल ल्याएर चिकित्सकले चेकजाँच गर्दा राति १:४५ बजे उनको निधन भएको प्रहरीले जनाएको छ ।

त्यसको पाँच दिनअघि साउन २३ गते शनिवार राति ८ः२० बजे बुद्धशान्ति गाउँपालिका –३ गोसलाइन बस्ने मिना राईकी छोरी बर्ष २० की अनुसा राईको सर्पले टोकेर मृत्यु भएको थियो ।

अनुसालाई आफ्नै घरको कोठाभित्र जाने क्रममा दाहिने खुट्टामा बिषालु सर्पले टोकेको थियो ।उनलाई उपचारको लागि सर्पदंश उपचार केन्द्र चारआली लगिएको थियो । त्यहाँ सामान्य उपचारपश्चात् थप उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड लगिएकोमा उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यस्तै असार २२ गते साँझ कमलमा सर्पले डसेर एक महिलाको मृत्यु भएको थियो । साँझ ७ः५० बजे कमल गाउँपालिका ३ बस्ने ज्ञानबहादुर लिम्बूकी श्रीमती ४० वर्षीया सरस्वती मगर लिम्बूलाई भान्सा कोठामा खाना पकाउने क्रममा कोब्रा सर्पले टोकेको थियो ।

उनलाई नेपाल रेडक्रस सोसाईटी दमकमा ल्याई उपचार भइरहेकोमा उपचारको क्रममा राति १०ः४० बजे डाक्टरले मृत घोषणा गरेका थिए ।

त्यस्तै असार ७ गते गौरीगंजमा सर्पले डसेर एक वृद्धाको मृत्यु भएको थियो ।
साँझ ६:३० बजे गौरीगंज ४ बाइसेटोल बस्ने ८८ वर्षीया पञ्चमाया शेर्मालाई कुखुराको खोरको ढोका लगाउने क्रममा खोर छेउमा रहेको ईटाको चाङबाट बिषालु सर्प निस्किएर दाहिने हातको माझी औंलामा डसेको थियो ।

घाइते पञ्चमायालाई उपचारको लागि बीएण्डसी अस्पताल विर्तामोड ल्याइएकोमा उपचारका क्रममा राति १०:४५ बजे मृत्यु भएको थियो ।

त्यस्तै गत बैशाख २६ गते झापाको कमल गाउँपालिका–५ गुजेश्वरी टोलमा सर्पले टोकेर एक बालक गम्भीर घाइते भएका थिए। स्थानीय कर्णबहादुर राईका ७ वर्षीय छोरा सायंक राईलाई आफ्नै घरको कोठामा खेलिरहेको अवस्थामा गोमन सर्पले दाहिने खुट्टामा डसेको थियो।

घाइते बालकलाई तत्काल दमकस्थित सर्पदंश उपचार केन्द्रमा लगिएकोमा त्यहाँ सामान्य उपचारपश्चात् थप उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा ल्याइएको थियो ।

 

तपाईको प्रतिक्रिया