Online Bichar
बिहिबार, साउन २१, २०८३ | Thursday, August 6, 2026

सिन्धुलीमाढी, २० साउन २०८३ । सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरस्थित सुनकोसी नदीमा खसेर बेपत्ता भएका तीन जना यात्रु र कार बुधबारसम्म पनि फेला पर्न सकेका छैनन्। दुई दिनअघि दुर्घटनामा परी नदीमा डुबेका यात्रु तथा कारको सशस्त्र प्रहरीको गोताखोर टोलीले उच्चस्तरीय प्रविधि प्रयोग गरी खोजी गरिरहेको जिल्ला प्रशासन कार्यालय सिन्धुलीले जनाएको छ।

बेपत्ता हुनेहरूमा सिन्धुपाल्चोक जुगल गाउँपालिका–७ निवासी ३९ वर्षीय निर्माण व्यवसायी दिलकुमार लामा, सिन्धुली गोलन्जोर गाउँपालिका–१ निवासी २८ वर्षीय गणेश थापा र तीनपाटन गाउँपालिका–९ डाँडाखर्क निवासी १७ वर्षीय सुजन बलम्पाकी मगर हुनुहुन्छ।

गत सोमबार काठमाडौँबाट ओखलढुङ्गातर्फ जाँदै गरेको बा।प्र ०८–००१ ख ०१४४ नम्बरको बसले सडक छेउमा रोकिराखेको प्रदेश ३–०१–०२४ च ९५७३ नम्बरको कारलाई ठक्कर दिँदा कार सडकबाट करिब ५० फिट तल सुनकोसी नदीमा खसेको थियो।

प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठका अनुसार सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन बेस क्याम्प खुर्कोटको गोताखोर टोली, नेपाल प्रहरी र स्थानीयवासी मिलेर खोजी कार्य जारी राखिएको छ। मङ्गलबारदेखि खोजी कार्यमा ड्रोन र म्याग्नेटसमेत प्रयोग गरिएको छ। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक विजय श्रेष्ठले सुनकोसी नदीमा पानीको बहाव उच्च रहेकाले गोताखोर टोलीलाई खोजी गर्न कठिनाइ भइरहेको जानकारी दिनुभयो। दुर्घटनामा संलग्न बस र चालकलाई नियन्त्रणमा लिइएको छ।

यसैबिच, बेपत्ता व्यक्तिका परिवार तथा आफन्तले क्षतिपूर्तिको माग गर्दै तीन दिनदेखि मध्यपहाडी लोकमार्गको खुर्कोट–घुर्मी खण्डअन्तर्गत वाक्सुखोला पुलमा चक्काजाम गर्दा यातायात अवरुद्ध भएको छ। बस धनी र समिति प्रतिनिधिहरूसँग छलफल गरी अवरुद्ध सडक सञ्चालन गराउने प्रयास भइरहेको प्रमुख जिल्ला अधिकारी श्रेष्ठले बताउनुभयो।

तपाईको प्रतिक्रिया