झापा, २० साउन २०८३ । कुनै समय झापा, मोरङ र सुनसरीमा उत्पादन भएको जुट भारत र बङ्गलादेशसम्म निर्यात हुने गथ्र्यो । तर अहिले अवस्था ठ्याक्कै उल्टिएको छ । स्वदेशमा जुट उत्पादन निरन्तर घट्दै गएपछि जुट उद्योग सञ्चालनका लागि भारत र बङ्गलादेशबाट कच्चा जुट आयातको ग्राफ बर्सेनि ठूलो मात्रामा बढ्दो छ ।
पूर्वीनाका काँकरभिट्टाबाट आर्थिक वर्ष २०८२/८३ मा मात्रै रु चार अर्ब ९१ करोड ६६ लाख ६२ हजारबराबरको कच्चा जुट आयात भएको छ । अघिल्लो आव २०८१–८२ मा रु चार अर्ब ३४ करोड १२ लाख ६१ हजारको जुट आयात भएको थियो । एक वर्षमै कच्चा जुटको आयात करिब रु ५७ करोड ५४ लाख अर्थात् १३।२५ प्रतिशतले बढेको देखिएको छ ।
मेची भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत शिवराम न्यौपानेका अनुसार मूल्यका आधारमा काँकरभिट्टानाकाबाट आयात हुने वस्तुमध्ये पेट्रोल र डिजेलपछि कच्चा जुट तेस्रो स्थानमा पर्छ । पछिल्ला वर्षहरूमा पूर्वीनाकाबाट जुट आयात निरन्तर बढ्दो क्रममा रहेको भन्सारको तथ्याङ्कले देखाएको छ ।
सरकारी अभिलेखअनुसार मोरङ, सुनसरी र झापामा २०४३/४४ सालदेखि व्यावसायिक रूपमा जुटखेती विस्तार हुनथालेको थियो । त्यसबेला यहाँ उत्पादन भएको जुट स्वदेशी उद्योगमा प्रयोग हुनुका साथै भारत र बङ्गलादेशमा समेत निर्यात हुने गथ्र्यो । अहिले भने स्वदेशी उत्पादनले उद्योगको माग धान्न नसक्दा त्यही भारत र बङ्गलादेशबाट कच्चा जुट आयात गर्नुपर्ने अवस्था आएको छ ।
जुटखेती घट्दै जानुको मुख्य कारण उत्पादन लागत बढ्नु र किसानले उचित मूल्य नपाउनु रहेको कृषि क्षेत्रका अधिकारीहरू बताउँछन् । उत्पादन खर्च बढ्दै जाँदा आम्दानी भने अपेक्षाअनुसार नहुने भएकाले किसानले जुटखेती छाडेर धानलगायत अन्य बालीतर्फ आकर्षित हुन थालेका छन् ।
कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टका अनुसार झापामा अहिले जुटखेती खुम्चिएर करिब पाँच हजार हेक्टर क्षेत्रफलमा मात्र हुँदै आएको छ । “लागत बढी र आम्दानी कम भएकाले किसानले जुटखेती छाड्दै गएका छन्, केही वर्षयता जुटको उत्पादनमा नराम्ररी गिरावट आएको छ”, उनले भने ।रासस






