काठमाडौं, ६ साउन २०८३ । परराष्ट्र मन्त्रालयले आउँदो साता केही देशका लागि राजदूत नियुक्तिको सिफारिस गर्ने तयारी गरेको छ ।
बीचमा कुनै बाधाअड्चन नआए अर्को साता परराष्ट्रमन्त्री शिशिर खनालले मन्त्रिपरिषद् बैठकमा राजदूत सिफारिसको लागि नामहरू लैजाने अन्तिम तयारी गरिरहेको पररराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।
“सम्भवत आउँदो साता केही व्यक्तिको नाम राजदूतमा सिफारिस हुनेछ,” परराष्ट्र मन्त्रालय स्रोतले बाह्रखरीसँग भन्यो, “परराष्ट्रमन्त्रीज्यूले राजदूतमा सिफारिस हुने व्यक्तिको नाम मन्त्रिपरिषद् बैठकमा लैजानुहुनेछ ।”
स्रोतका अनुसार, सुरुमा करियर डिप्लोम्याट (परराष्ट्र मन्त्रालयका सहसचिव) लाई राजदूतमा सिफारिस गर्ने तयारी भइरहेको छ । तर, कतिजना परराष्ट्रका सहसचिवलाई राजदूतमा सिफारिस गर्ने भन्ने टुंगो लागिसकेको छैन ।
“दोस्रो चरणमा मात्र राजनीतिक नियुक्तिका आधारमा केही व्यक्तिको नाम सिफारिस गर्ने तयारी छ,” परराष्ट्र मन्त्रालय स्रोतले भन्यो ।
अहिले चीन, भारत, अस्ट्रेलिया, डेनमार्क, दक्षिण कोरिया, दक्षिण अफ्रिका, श्रीलंका, जर्मनी, जापान, इजरायल, मलेसिया, कतार, रुस, साउदी अरेबिया, बेलायत, अमेरिका, स्पेन र ओमानमा गरी १८ नेपाली नियोगहरु राजदूतविहीन छन् । सरकारले अब १८ देशमा राजदूत सिफारिस गर्नुपर्नेछ ।
परराष्ट्रले २०८३ जेठ १४ गते एक सूचना प्रकाशित गर्दै रिक्त रहेकामध्ये १३ देशका राजदूतको लागि आवेदन मागेको थियो । परराष्ट्रले अमेरिका, चीन, भारत, अष्ट्रेलिया, बेलायत, साउदी अरेबिया, बंगलादेश, इजरायल, ओमान, दक्षिण कोरिया, मलेसिया, बहराइन र अष्ट्रियाको लागि नेपाली राजदूत नियुक्त गर्न खुला आवेदन मागेको थियो ।
विभिन्न १३ देशका राजदूतको लागि झन्डै चार हजार आवेदन परेका थिए । परराष्ट्र मन्त्रालयले करिब तीन हजार जनाबाट ती आवेदन प्राप्त गरेको थियो । प्राप्त आवेदनबाट राजदूतमा सिफारिस गर्ने व्यक्तिको नाम सर्टलिस्ट गरिसकेको भनाइ स्रोतको छ ।
स्रोतका अनुसार, परराष्ट्रले कम्तीमा पनि पाँचजना परराष्ट्र मन्त्रालयका सहसचिवलाई राजदूतमा सिफारिस गर्ने तयारी गरिरहेको छ । त्यसपछि परेका आवेदनबाट राजनीतिक नियुक्तिका आधारमा १३ जनाको नाम राजदूतमा सिफारिस गर्ने तयारी भइरहेको छ ।






