Online Bichar
बुधबार, आषाढ ३१, २०८३ | Wednesday, July 15, 2026

झापा, ३० असार २०८३ । झापाको कन्काईमा बालबालिकाका सुनका मुन्द्रा चोर्ने जेठी सासु र बहिनी ज्वाइँ पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा कनकाई वडा नं.५ बेनुवाजा टोल बस्ने ३६ वर्षीया बिमला पाँचकोटी र उनका बहिनी ज्वाइँ शिवसताक्षी वडा नं.९ बस्ने ३० वर्षीय बिर्जु भन्ने बिजय दर्जी रहेका छन् ।

गत असार २४ गते साँझ ६ बजे कनकाई वडा नं.३ बस्ने जयराम श्रेष्ठका छोरा ९ वर्षीय प्रजन श्रेष्ठलाई घरनजिकै खेल्ने क्रममा उनीहरुले ललाई फकाई प्रजनले कानमा लगाएको दुई आनी सुनको दुईवटा कुण्डल लुटेर लगेका थिए । ती बालकका बुवा जयरामले असार २५ गते इलाका प्रहरी कार्यालय सुरुङगामा लिखित निवेदन दिएका थिए ।

इप्रका सुरुङ्गाबाट प्रहरी बरिष्ठ नायव निरीक्षक रबि राईको कमाण्डमा टोली खटिएर अनुसन्धान गर्ने क्रममा सीसीटीभी फुटेजको आधारमा उक्त सुन लुट्ने बिमला पाँचकोटी र उनका बहिनी ज्वाइँ बिजय दर्जी रहेको पहिचान खुलेको थियो । सोही राति ११ः३० बजे बिमला पाँचकोटीलाई घरबाटै प्रहरीले नियन्त्रणमा लिएको हो । बिमलाको साथबाट सुन फेला परेको थिएन । बिजय दर्जी फरार रहेकाले खोजतलास भइरहेको थियो ।

त्यसको दुई दिनपछि असार २७ गते बिहान ८:३० बजे फरार रहेका विजय दर्जीलाई कनकाई वडा नं।३ कृषि बजारबाट पक्राउ गरिएको हो । दुवैलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय अनारमनीमा ल्याई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया